नेपालीसँग पैसा नलिने सहमति पछि एक्याप कार्यालयमा लगाएको ताला खुल्यो

पोखरा, पुस ३ ।
नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुई साताअघि लगाईएको एक्याप कार्यालय बीरेठाँटीको ताला सोमबार खोलिएको छ । संघर्ष समिति र एक्यापको प्रतिनिधिबीच सहमति भएपछि ताला खोलिएको हो । दुई पक्षबीच भएको सहमति अनुसार अव एक्याप क्षेत्रभित्र प्रवेश गर्ने नेपालीले शुल्क तिर्नुपर्दैन ।

‘नेपालीसँग पैसा नलिने सहमति भएको छ । काठ चिर्न पनि एक्यापको स्विकृति नचाहिने गरि समिति गठन गरेर काम गर्ने र स्थानीय योजना तथा कार्यक्रममा बजेट लगानी गर्ने सहमति गरिएको हो, संघर्ष समितिका अध्यक्ष टेकबहादुर गुरुङले भने–हाम्रो माग सम्बोधन भएपछि ताला खोलिएको हो ।’

एक्याप घान्द्रुकका प्रमुख विदुर कुईंकेलले स्थानीयसँग सहमति भएपछि ताला खोलिएको बताए । ‘नेपालीसँग प्रवेश शुल्क नलिन र काठ ओसारपोसार गर्न सहजीकरणको माग गर्नुभएको थियो । राजपत्रमा निस्किएपछि शुल्नै पर्छ, उनले भने–तर केन्द्रमा गुनासो लेखि पठाउने र तत्कालका लागि शुल्क नलिने सहमति भएको छ । काठ चिरानका लागि पनि गाउँमा नै पुर्जी बाढ्ने सहमति पछि ताला खोलियो ।’

तर दुईपक्षीय सहमति स्थानीयको हित विपरित भएको भन्दै यूवाहरुले निर्णय नमान्ने बताएका छन् । ‘अव हामीलाई एक्याप चाहिँदैन । आफ्नो बारीको घाँस काट्न पनि एक्यापसँग सहमति पत्र लिन जानुपर्ने ?, स्थानीय भरत गुरुङ भन्छन्–संघर्ष समितिले पहिलेको माग अनुसार सहमति गरेन । अहिले यूवाहरु जुटेर फेरि एक्यापको विरोध गर्न थालेका छन् ।’

स्थानीय अगुवाहरुले चाहीँ एक्यापको म्याद एक बर्षमात्रै भएकोले केही समय कुर्न आग्रह गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार भित्र छिरेवापत नेपाली नागरिकले पनि प्रबेश शुल्क तिर्नुपर्ने नियम सरकारले लगाएपछि साविक लुम्ले, घान्द्रुक र दाङसिङका नागरिकहरुले बीरेठाँटीको चेकपोष्टमा ताला लगाएका हुन् ।

उनीहरुसले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरेका थिए । एक्यापले नेपालीसँग प्रवेश शुल्क शीर्षकमा १ सय रुपैयाँ प्रतिब्यक्ति उठाउँदै आएको थियो । केही ठाउँमा चाहीँ १ सय रुपैयाँ थपेर २ सय रुपैयाँ असुल्दै आएको स्थानीयको गुनासो छ ।