नेपालीको ढाड सेक्दै एक्याप-छिर्ने वित्तिकै २ सय, अवैध शुल्क असुली

पोखरा, कार्तिक २७ ।
सरकारले संरक्षित क्षेत्रमा प्रवेश गरे वापत नेपालीसँग पनि प्रबेश शुल्क लिने ब्यवस्था गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि शुल्क लिन थालेको छ । सरकारले प्रतिब्यक्ति १ सय रुपैयाँका दरले प्रवेश शुल्क लिने नियम बनाएको छ ।

तर मंगलबार आयोजनाको पोथना इकाईले नेपालीसँग २ सय रुपैयाँ प्रवेश शुल्क लिएको छ । काठमाण्डौंका प्रकाश कार्कीसँग २ सय रुपैयाँ प्रवेश शुल्क लिईएको प्रमाण फेला परेको छ ।

‘हामी ५ जना आएका थियौं । प्रत्येकसँग २ सय रुपैयाँका दरले प्रवेश शुल्क लिनुभयो, टोलिमा गएकी विमा थापाले भनिन्–काठमाण्डौंबाट परमिट लिँदा १ सय रुपैयाँ लाग्ने र एक्याप क्षेत्रमा आईपुगेपछि २ सय रुपैयाँ लाग्ने भनेपछि तिरेका हौं । हामीलाई थाहा थिएन ।’

नयाँ नियम आएको भन्दै पैसा लिएको उनले सुनाईन् । सरकारले संरक्षित क्षेत्रमा शुल्क लिन थालेपछि चौतर्फी विरोध भैरहेको छ । पैसा असुलेपछि केही नेपालीहरु पोथनाबाटै फर्किएको स्थानीयले बताएका छन् ।