नेपालले युएईलाई हरायो, शीर्ष २ मा पर्ने सम्भावना कायमै

काठमाण्डौं, माघ २८ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । आइतबार नामिबियाको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेटको क्षतिमा पार र्गयो । पहिलो खेलमा नामिबियालाई पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । युएईलाई हराएर दोस्रो जित हात पारेको नेपाल प्रतियोगिताको शीर्ष २ मा रहेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा छानिने सम्भावना कायमै छ ।
नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। पारसले १६ ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनी ५१ रन बनाएर आउट भए । पारसले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, रोहितकुमार पौडेलले नटआउट १२ रन र सोमपाल कामीले नटआउट १० रन जोडे । ओपनरद्वय दिलीप नाथ २ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्किए । दिलीप तेस्रो तथा ज्ञानेन्द्र चौथो ओभरमा आउट भएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरी पनि ४ रनमा बोल्ड भएका थिए भने शरद भेषावकर ३ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परे । आरिफ शेख छैटौं विकेटको रुपमा १६ रनमा आउट भए । युएईका मोहमद नाभिद र अमिर हायतले २/२ विकेट लिए। रोहान मुस्ताफा र अहमद राजाले १/१ विकेट हात पारेका थिए । ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।
युएईका लागि शइमन अन्वारले सबैभन्दा बढी ३० रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिँदा कप्तान पारस खड्काले २ विकेट हात पारे । करण केसीले १ विकेट आफ्नो नाममा लेखाए । सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाएका थिए । उनले ओपनिङ ब्याट्सम्यान असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे । यस्तै, सोमपालले गुलाम सब्बरलाई १६ रनमा आउट गरे । उनले दशौं नम्बरका ब्याट्सम्यान मोहमद नाभिदलाई पनि सिकार बनाए । नाभिदले १० रन जोडे। सोमपालले अहमेद राजालाई ८ रनमा खेलिरहँदा ज्ञानेन्द्र मल्लबाट क्याच गराए । करणले युएईका कप्तान तथा ओपनर रोहान मुस्ताफालाई ७ रनमा विकेटकिपर दिलीप नाथबाट क्याच गराए । सन्दीपले १८औं ओभरमा लगातार २ विकेट हात पारे । उनले १८औं ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरे । चौथो बलमा युएईका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके । सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे । पारसले मोहमद बोतालाई १५ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पारे भने अडनान मुफ्तीलाई १८ रनमा आउट गरे । खेल नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा निर्धारित समयभन्दा ३ घन्टा ढिलो सुरु भएको थियो ।