नेपालले भारतसँग बराबरी खेल्यो

काठमाडौं, असोज ७।
एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ च्याम्पियनसिपमा नेपालले भारतसँग अंक बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा नेपाल र भारतले २–२ गोलको बराबरी खेले । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले भारतसँग एक÷एक अंक बाँडेको हो। घरेलु टोली नेपालका लागि दुवै गोल वृजेश चौधरीले गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा चारवटै गोल दोस्रो हाफमा भएको थियो । खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो । निर्धारित समयको ७६औं मिनेटमा वृजेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भारतले ८१औं र ८४औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपाल २–१ ले पछाडि परेको थियो ।
नेपालको खराब रक्षापंक्तिको फाइदा उठाउँदै भारतका मनप्रितले दुवै गोल गरेका थिए । दोस्रो खेलमा पनि पराजय नजिक पुगेको नेपाललाई दुई मिनेटको बाँकी छँदा वृजेशले गोल गर्दै सम्भावित हारबाट जोगाएका थिए ।
नेपालले अर्को खेल आइतबार प्यालेस्टाइनसँग खेल्नेछ । यसअघि बुधबार भएको खेलमा नेपाली टोली साबिक विजेता इराकसँग १–० गोलले पराजित भएको थियो ।