नेपालमै अब्बल पोखरेली स्कुल !

प्रकाश ढकाल
पोखरा, भदौ २१ ।
पोखराको मदरल्याण्ड स्कुल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस बर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले बिशेष अध्ययन गरेर मदरल्याण्ड सहित कास्कीका तीनवटा विद्यालयलाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा पहिचान गरेको छ । सरकारले दिने ४ विधाका पुरस्कारमध्ये ३ विधाको उत्कृष्ट स्कुल पोखराभित्रका छन् ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सामुदायिकतर्फ अमरसिंह मावि पहिलो भएको छ भने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ शीतलादेवी मावि र संस्थागततर्फ मदरल्याण्ड मावि मासबार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा संस्थागततर्फ चाहीँ भक्तपुरको एसओएस हर्मन माइनर मावि उत्कृष्ट विद्यालय घोषित भएको छ ।

शीतलादेवी मावि दोश्रो पटक नेपालमै उत्कृष्ट विद्यालयको रुपमा दरिएको छ । २०७३ सालमा पनि शीतलादेवी नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको थियो । विशेषगरी शैक्षिक गुणस्तर र भौतिक संरचनालाई आधार मानेर उत्कृष्ट विद्यालय छनौट गरिन्छ । मासबारमा रहेको मदरल्याण्ड स्कुलले यसबर्षको एसईई परीक्षाको नतिजामा नेपालकै उत्कृष्ट बनेको थियो । ४ जिपिए सहित ७ जना विद्यार्थीले एसईई उत्तिर्ण गर्ने नेपालकै एकमात्र विद्यालय मदरल्याण्ड हो ।

१ सय ५० परीक्षार्थीमध्ये १ सय १५ जनाले ए प्लस नतिजा ल्याएका थिए भने २८ जनाले ए र बाँकी ७ जना विद्यार्थीले बी प्लस नतिजा प्राप्त गरेका थिए । सबैको लगावले खुशी साँट्न पाएको विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए । ‘इतिहासमै पहिलो पटक काठमाण्डौं उपत्यका बाहिरको विद्यालय उत्कृष्ट भएको छ । समग्र पोखरालाई यो खुशीको क्षण हो, उनले भने–नयाँ खुशीले चुनौति पनि निम्त्याएको छ । यसलाई कायम राख्नका लागि शैक्षिक नतिजामात्रै नभई विद्यार्थीको आचारण, ब्यवहार र सफलताका लागि सिंगो विद्यालय प्रतिबद्ध छ ।’ उनका अनुसार विद्यालयमा हाल २ हजार ३ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

अमरसिंह माविका निमित्त प्रधानध्यापक शेरबहादुर थापाले विद्यार्थी, शिक्षक र अभिभावकहरुको मेहिनतकै कारण विद्यालय उत्कृष्ट बनेको बताए । हाल अमरसिंह माविमा २ हजार ७ सय ५३ जना विद्यार्थी छन् । त्यसमध्ये प्लस टु मा मात्रै १ हजार १ सय ५० जना अध्ययन गर्छन् । यसबर्ष १२ कक्षाको नतिजामा ७ जनाले ए प्लस ल्याएका थिए भने ६७ जनाले ए ल्याएका थिए । ब्यवस्थापन तर्फ १ जनाको ए प्लस र २८ जना ए ल्याउन सफल भएका थिए । अमरसिंहलाई विज्ञान संकायमा उत्कृष्ट विद्यालयको रुपमा हेरिन्छ । दरबन्दी र निजी गरी १ सय ९६ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

अघिल्लो परीक्षाको उत्तीर्ण दर, प्राप्त जिपिए, ९ कक्षाको बिद्यार्थी भर्नादर र उत्तीर्ण दर हेरेर उत्कृष्ट विद्यालयको रुपमा छनौट हुन्छ । शीतालदेवी माविले ७३ जना विद्यार्थीलाई परीक्षामा पठाएर सबै विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । ४ जिपिए सहितको नतिजा ल्याएको शीतलादेवीका २३ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरे भने ३६ जनाले ए र १२ जनाले बी प्लस नतिजा ल्याएका थिए ।

शैक्षिक गुणस्तर सुधारकै कारण विद्यालयलाई उत्कृष्ट बनाएको विद्यालयका प्रधानध्यापक बाबुराम अधिकारीले बताए । राष्ट्रिय पुरस्कार पाएपछि खुशी सहित चुनौति थपिएको उनी बताउँछन् । ‘हामी खुशी त छौं । तर चुनौतिले पनि पछ्याएको छ । चुनौतिलाई सामना गर्ने अनुभव हामीसँग छ, उनले भने–यही नतिजा आगामी बर्षपनि कायम राख्ने अठोटका साथ सुधारका काम गर्छौं । शीतलादेवीमा पढायौं भने छोराछोरीको भविष्य उज्वल हुन्छ भन्ने प्रमाण हामी स्थापित गर्न चाहान्छौं ।’ स्कुलमा अहिले ८ सय २३ जना विद्यार्थी पढ्दैछन् ।

पोखरालाई पर्यटनसँगै शिक्षा, संस्कृति, साहित्यका पनि राजधानीको रुपमा दावी गर्छन् पोखरेलीहरु । पछिल्ला नतिजाहरुले शिक्षामा पोखराको उपलब्धी निकै बढेको तथ्यांक छ । पोखरा शैक्षिक हवको रुपमा स्थापित हुँदैछ । अभिभावकलाई छोराछोरी पढ्न काठमाण्डौं र विदेश पठाउनुपर्छ भन्ने मान्यता अव विस्तारै हट्न थालेको छ । निजी स्कुलले थिचेपछि सरकारी स्कुलहरुको अवस्था खस्कँदै गएको अवस्थामा उत्कृष्ट नतिजा ल्याउनु चानचुने कुरा होइन ।