नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार, गत वर्ष भन्दा नेपाल १६ औं स्थान माथि उक्लन सफल

 

काठमाडौं, कार्तिक ७ ।

नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गत वर्ष भन्दा १६ औं स्थान माथि उक्लन सफल भएको छ । डुइङ विजनेश इन्डेक्समा नेपाल ९४ औं स्थानमा पुगेको छ ।

दक्षिण एशियाली मुलुकमा भारत र भूटानपछि नेपाल परेको हो । भारत ६३ औं स्थानमा छ भने भूटान ८९ औं स्थानमा छ ।

यसअघि नेपाल १सय १० औं स्थानमा रहेको थियो । इनडेक्समा सबैभन्दा शीर्ष स्थानमा न्यूजिल्याण्ड छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको विश्व बैंकले जनाएको छ ।

१६ औं स्थान माथि उक्लिए पनि नेपाल धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा भने पर्न सकेन ।

नेपालले वीरगंजमा एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर निर्यात आयातको ब्यापारका लागि समय र लागतलाई घटाएको प्रतिवेदनमा भनिएको छ ।

यद्यपी सामाजिक सुरक्षाका लागि अनलाइनमार्फत कर्मचारीको दर्ता गर्नुपर्ने व्यवस्थाले गाह्रो बनाएको पनि प्रतिवेदनमा भनिएको छ ।

डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकका आधारमा कुनै पनि देशको अर्थतन्त्रमा सुधार आए–नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भएरनभएको मापन गरिँदै आएको विश्व बैंकले जनाएको छ ।

विश्वका १ सय ९० देशको अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले जनाउको छ ।

(ईमेजखबरबाट साभार)