नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान

काठमाण्डौं, चैत ५ ।
केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसंख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ । उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसंख्या कति पुग्यो ?’ त्यो बोर्डले सोमबारको जनसंख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ ।

राति १२ बजेपछि बोर्डमा नयाँ जनसंख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसंख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ ।

विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ । विभागका निर्देशक शंकरलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसंख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने, “प्रक्षेपण गरिएको जनसङ्ख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।”

विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसंख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । जबकि जनगणनाले जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखायो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।