नेपालका सन्दीप सबैभन्दा धेरै विकेट लिने बलर, सबै खेलाडी पछि परे

काठमाण्डौं, मंसिर १० ।
यूएईमा जारी टी–१० लिगमा केराला किंग्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । सिध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिँदै सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् । सन्दीपले जारी तेस्रो खेलमा दुई विकेट लिदैँ ताम्बेसँग बराबरी गरेका हुन् ।

औषतका आधारमा भने ताम्बे पहिलो स्थानमा छन् । यद्दपी ताम्बेले २ खेलमात्रै खेलेका छन् । केरालाको टोलीमा भने सन्दीप सर्बाधिक विकेट लिने बलर हुन् । सन्दीप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन (वेस्ट इण्डिज) ले २ विकेट मात्रै लिन सकेका छन् ।

केरालाले तीन खेलमा ९ विकेट लिदा सन्दीप एक्लैले ६ विकेट लिएका हुन् । सन्दीपले प्रतियोगितामा आफ्नो ६ ओभरमा ५४ रन खर्चेका छन् । टी–१० मा एक खेलाडीले एक खेलमा २ ओभरमात्रै बलिङ गर्न पाउने प्रावधान छ ।

जारी राजपुतविरुद्धको खेलमा सन्दीपले आफ्ना दुई ओभरमा दुई विकेट लिएका थिए । पहिलो ओभरमा राजपुतका कीर्तिमानी मोहम्मद सेहजादको विकेट लिएका सन्दीपले आफ्नो दोस्रो ओभरमा कार्लोस ब्राथवेटको विकेट लिएका हुन् । सन्दीपले दुबैलाई एक(एक रनमै पवेलियन फर्काएका थिए ।

राजपुतविरुद्धको जारी खेलमा केराला किंग्सबाट पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शेहजादलाई एक रनमै क्याच आउट गराएका थिए । शेहजादले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिंध्दिजविरुद्ध १६ बलमा ७४ रनको नटआउट पारी खेल्दै कीर्तिमान रचेका थिए । जसमा आठ छक्का र छ चौका सामेल थिए । १२ बलमा अर्धशतक प्रहार गर्दै उनले टी(टेन क्रिकेटमा सबैभन्दा छिटो कीर्तिमान प्रहार गर्ने कीर्तिमान रचेका थिए ।

तर, विस्फोटक अफगानिस्तानका शेहजादलाई आज भने सन्दीपले एक रनमै पवेलियन फर्काउँदै टोलीलाई सुरुवाती अग्रता दिलाएका छन् । यस्तै खेलको सातौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले तेस्रो बलमा ब्रेथवेटलाई किरण पोलार्डको हातबाट क्याच गराए । समग्रमा दुई ओभरमा सन्दीपले २३ रन खर्चदै दुई विकेट लिए ।

पहिलो ओभरमा ६ रनमात्रै दिएका सन्दीपको दोस्रो ओभरमा राजपुतका खेलाडीले दुई छक्का र एक चौकासहित १७ रन जोडेका थिए । साविकको विजेता केराला किंग्स अंकतालिकामा समूह एको तेस्रो स्थानमा छ । दुई खेल खेल्दा उसले एकमा हार र एकमा जित निकाल्दै २ अंक जोडेको छ ।

पहिलो खेलमा सन्दीपले तीन विकेट लिदैँ म्यान अफ द म्याच चुनिएका थिए । सन्दीपको म्यान अफ द म्याच प्रदर्शनपछि उनको टोली केराला किंग्सले पख्तुन्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । दुई ओभरमा सन्दीपले तीन विकेट लिएर १७ रनमात्रै खर्चेका थिए ।

दोस्रो खेलमा भने केराला सिंण्डिज टोलीसँग ९ विकेटको पराजित भएको थियो । उक्त खेलमा केरालाका तर्फबाट विकेट लिने सन्दीप एकमात्रै खेलाडी थिए । समग्रमा दुई ओभरको स्पेलमा सन्दीपले १४ रन खर्चेर १ विकेट लिए ।

८ टोलीको सहभागिता रहेको जारी लिग १० ओभरको हुनेछ । क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए । प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

सन्दीपलाई २०१९ को सिजनका लागि इन्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ गरिसकेको छ । यस्तै सन्दीप टी टेन पछि अस्ट्रेलियाको बिगब्यास लिग खेल्नेछन् भने यसै साता उनलाई पाकिस्तान सुपर लिगका लागि लाहोर क्वलन्दरले अनुबन्ध गरिसकेको छ ।–nepalkhabar.com