नेकपा सांसद अधिकारीको प्रश्नः सूर्य चिन्हको एमाले दर्ता भएछ, समाजवाद कहाँनेर छ ?

पोखरा, भदौ ४ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले सरकारसँग समाजवादको विन्दु खोजेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सरकारका पछिल्ला गतिविधिबारे असन्तुष्टी जनाए ।

‘खाडिमा टिकट काटेका नेपालीहरु छोडेर रित्तै जाहाज फर्केछ । मल नपाएर धानबाली घट्दैछ,’ उनले भने, ‘छ महिना लगाएर निर्माण गरिएको संसदको लोगो अलपत्र परेछ । निर्वाचन आयोगले सुर्य चिन्हको एमाले दर्ता गरेछ । लौन समाजवाद कहानेर छ बुझाइदिन पर्याे ।’ बुधबार मात्रै नेकपा एमाले उदाउदो सूर्यलाई चुनाव चिन्ह बनाएर आयोगमा दर्ता भएको थियो ।

उनले कोरोनाको उपचार र ब्यवस्थापन सहि नभएको गुनासो समेत गरेका छन् । ‘कोरोनाको उपचार र व्यबस्थापन गर्ने वेला २०२० र २०२८ को निषेधाज्ञा सक्रिय भएछ,’ उनले भने । सांसद अधिकारी सरकारले गरेका अस्वभाविक गतिविधिको कटु आलोचक हुन् ।