नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित, अर्को बैठक माघ ६ मा

 

काठमाडौं, पुस २७ ।

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी्भित्र सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसकेपछि प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको हो ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर, उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

यसपछि सहमतिको प्रयासका लागि भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बिहान छलफल भएको थियो । शीर्ष नेताहरुको छलफलमा केही सचिवालय सदस्य र उपसभामुख तुम्बाहाम्फे पनि सहभागि भएकी थिइन् ।

तर, छलफलमा सहमति हुन नसकेपछि आज दिउँसो १ बजे निर्धारित प्रतिनिधिसभा बैठक आउँदो माघ ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

नेकपाले रिक्त सभामुख पद आफुसंगै राख्न खोजेकोले उपसभामुखलाई राजीनामा दिन आग्रह गरेको हो । तर, उपसभामुखले राजीनामा नदिने अडान राखेपछि नेकपालाई सभामुखमा उम्मेद्वारी दिन संवैधानिक व्यवस्थाले रोकेको छ ।

संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ ।
(ईमेजखबरबाट साभार)