नेकपाको सरकार ५ वर्ष टिक्छ : प्रचण्ड

 

जनकपुरधाम, भदौ २ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी शर्मा ओली नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् ।

आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए ।

तर वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर पुगेका प्रचण्डले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ भन्न चाहेनन्, पार्टीको भनेका छन् ।

पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम गर्ने बताए ।

वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । (अनलाइनखबरबाट साभार)