निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया पोखरामा सम्पन्न

 

पोखरा, मंसिर ७ ।

कास्की क्षेत्र नं २ मा रिक्त रहेको पदपूर्तीका लागि आगामी (मंसिर) १४ गते हुने उपनिवार्चन लक्षित निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा क्रियाशिल ३० बढि पत्रकारहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा निर्वाचनको सवाल र आचार–संहिताको बारेमा कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए भने निर्वाचन सम्बन्धि रिपोर्टिङ र सञ्चार अचार–संहिताको विषयमा अग्रज पत्रकार भरत कोईरालाले प्रस्तुती राखेका थिए । पत्रकार कोईरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गुर्नपर्ने आचारसंहिता र जिम्मेवारीको बारेमा प्रस्तुती राखेका थिए ।

त्यस्तै कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कास्कीमा हुने प्रतिनिधिसभाको उपचुनावको बारेमा प्रस्तुती राख्दै उपनिर्वानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनको कार्यपत्रमा राजनैतिक दल तथा उम्मेद्वार, नागरिक समाज, मिडियाकर्मी लगायतको कर्तव्य र जिम्मेवारीका सवाल समेत समावेश गरिएको थियो । अधिकृतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार कास्की क्षेत्र नं २ मा ८२ मतदान केन्द्र रहेको छ भने कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पत्रकारिता संवेदनशिल पेशा रहेको उल्लेख गर्दै तथ्य सहित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे । निर्वाचनको समाचार संकलन गर्दा आचारसंहिताको मर्यादामा रहेर पत्रकारीताबाट सहयोेग गर्न समेत उनले आग्रह गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संगठन सचिव खीमा गुरुङले गरेकी थिईन् ।