निर्मला हत्या प्रकरण–दोषी भनिएका कसैको पनि डिएनए मिलेन (के भन्छन् निर्मलाका बाबु ?)

कञ्चनपुर, असोज १४ ।
निर्मला हत्या काण्ड यति चरम भयो कि, देशैभरी यसको विरोध भैरहेको छ । देशका उच्च पदका ब्यक्तिहरु नै बलात्कार र हत्यामा उत्रिएको आम मानिसको आशंका र आरोप छ । तर ति आरोपहरु पुष्टी हुने कुनैपनि प्रमाण छैन । केही शंकास्पद भनिएका र आरोप लगाईएका ब्यक्तिहरुको डिएनए रिपोर्ट पनि नेगेटिभ आएपछि सर्वसाधारण र पीडित परिवार झन् बढी पीडामा छन् ।

तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिकृया दिएका छन् । ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थिएँ रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले भने, ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’

यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सबै आँखामा छारो हाल्न मात्र गरेको बताए । ‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’ उनले भावुक हुँदै भने ।

बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरे । बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबुले दावी गरे । सञ्चारमाध्यमको साथले मात्रै आफु न्याय पाउने आसमा रहेको उनको भनाई छ ।

निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए । आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परीक्षण गरेका थिए ।

निर्मला पन्तको गत साउन १० गते साथी रोसनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो । तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएसँगै कञ्चनपुर घटना थप रहस्यमय बनेको छ ।