निर्मला हत्या प्रकरण–एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट आईपुग्यो

कञ्चनपुर, असोज १३ ।
साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ ।

उक्त रिपोर्ट प्राप्त भएको जानकारी दिँदै आइतबार सरकारी वकिलको कार्यालय कञ्चनपुरमा सार्वजनिक गरिने कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनएस परीक्षण गरेको थियो । डिएनए परीक्षणमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ । दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन ।