निर्मला हत्या–अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि

कञ्चनपुर, भदौ २१ ।
राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको सुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरीरप्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताए ।

’जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन’, प्रवक्ता अन्सारीले भने, ‘घटनाको प्रमाण संकलनमा पनि त्रुटि देखिन्छ ।’ घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ । यहाँ आएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामा नै प्रहरीको अनुसन्धान प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको जनाइएको छ ।

पन्तको शव गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।