निर्मला पन्तको आन्दोलनका घाइतेले अझै उपचार खर्च पाएनन्

 

कञ्चनपुर, मंसिर १५ ।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

तत्कालीन उच्चस्तरिय समितिमार्फत सरकारले आन्दोलनका घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यलाई बुझाइएको ज्ञापनपत्रमा घाइतेको उपचारमा लागेको खर्च तत्काल उपलब्ध गराउन माग गरिएको छ ।

यस्तै, निर्मलाकी आमा दुर्गा देवीले अदालतमा विचाराधीन मुद्धालाई कमजोर बनाउने किसिमले जनभावना विपरितका कुराहरु आइरहेकाले सो विषयमा छानविन गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वैद्यले घाइतेको माथिल्लो निकायमा पटक पटक पहल गरेको भन्दै बताए ।
(ईमेजखबरबाट साभार)