नियम निलम्बनको प्रस्ताव स्वीकृत

 

काठमाडौं, भदौ ३० ।

राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।

बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ ।

बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसायी विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. खतिवडाले जवाफ दिएपछि बैठकको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत गरिएको थियो ।

राष्ट्रियसभाले ‘राहदानी विधेयक २०७५’ पुनःविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकार गरेको छ ।

बैठकमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते मंगलबार अपराह्न ३ बजे बस्नेछ । (रासस)