नारी जागरण अभियान केन्द्रको तिहार केन्द्रित अभियान

 

पोखरा, कार्तिक ८ ।

नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा हुने कालोबजारी अनियमितता र सामाजिक विकृती नियन्त्रणलका लागि नारी जागरण अभियान पोखराले सरोकार वालालाई खबरदारी गरेको छ । केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीलाई भेटेर तीहारका नाममा हुने सबै खाले सामाजिक विभेद कालोबजारी र बिकृतीलाई रोक्नका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

केन्द्रकी संयोजक अभियान्ता अञ्जु के.सीले तिहारमा लक्ष्मीलाई घर भित्र पसाउने नाममा रातभरी र दिन भरी पनि रक्सी र जुवामा लाग्नेहरुलाई नियन्त्रण गर्न अनुरोध गरेको जानकारी दिईन् । पर्वहरुलाई विकृति रहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले बेला बेलामा आवश्यक कार्यक्रम र जनचेतना संचालन गर्ने गरेको पनि संयोजक केसीको भनाई थियो । सँगसँगै देउसी भैलोको नाममा हुने बिकृती र अन्य खालका असामाजिक कृयाकलापबाट बच्न र समाजलाई बचाउन पनि उनको अनुरोध थियो ।

छलफलमा बोल्दै जिल्ला प्रहरी प्रमुख कार्कीले सधैँ जनचासोका विषयमा चनाखो रहेने धारणा राखे । उनले भने–“हामी समाज सहि तरिकाले चलोस् भन्ने चाहन्छौं त्यसको लागि हामीले गर्नु पर्ने सबै कामको सक्रियतालाई क्रियासिल राख्छौं ।”

नागरिकस्तरबाट सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएकोमा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि प्रशासन गम्भीर रहेको बताए ।