नायिका बनाइदिन्छु भन्दै किशोरीको बलात्कार, फोटोग्राफर पक्राउ

काठमाण्डौं, फागुन २३ ।
किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए । फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर उनले किशोरीमाथि यौनशोषण गरेका हुन् । फरार रहेका तामाङविरुद्ध किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनी पेसाले फोटोग्राफर भएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए । सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर बलात्कार गरेका थिए । पछि गौशालाको होटलमा बोलाएर नायिका बनाइदिने भन्दै सम्बन्ध राखेका थिए । त्यसपछि फरार उनी पक्राउ परेका हुन् ।
तामाङसँग युवतीको फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुक च्याटमा तामाङले आफू कलाकार भएको भन्दै भ्रममा पारेका थिए । उनी सामान्य कार्यक्रम तथा बिहेहरुमा फोटो खिच्ने काम गर्दै आएका थिए । मोबाइल स्वीच अफ गरेर फरार रहेका तामाङलाई प्रहरीले १८ गते पक्राउ गरेको हो । जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।