नाटकीय शैलिमा पोखरा विश्वबिद्यालयको कम्प्युटर ह्याक, प्रहरीको गम्भीर अनुसन्धान

पोखरा, भदौ ८ ।
पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर ह्याक भएको छ । रात परेपछि फर्निचर नाप्ने भन्दै गएको टोलिले हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर नै ह्याक गरेको हो । ७ बजेतिर ३ जना ब्यक्ति कार्यालयभित्र पसेर कम्प्युटर ह्याक गरेका हुन् ।

विश्वविद्यालयकै अधिकृत स्तरका कर्मचारी, पूर्व विद्यार्थी र कार्यालय सहयोगी मिलेर सुरक्षा गार्डलाई समेत झुक्याउँदै गोप्य कोठामा छिरेर महत्वपूर्ण कम्प्युटर ह्याक गरेको खुलासा भएको छ । भोलिपल्ट मात्रै कम्प्युटर ह्याक भएको थाहा पाएको विश्वविद्यालयले जनाएको छ ।

‘सबै कम्प्युटरमा पासवर्ड राखिएको थियो । विहान कम्प्युटर खोल्दा पासवर्ड नै मागेन, परीक्षा नियन्त्रक डा. भरतराज ढुंगानाले भने–त्यसपछि मात्रै कम्प्युटर अरुले चलाएको भन्ने थाहा भयो । खोजतलास गर्दा कम्प्युटर ह्याक भएको रहेछ ।’

घटना भएको थाहा पाउने वित्तिकै कार्यालयले प्रहरीलाई खवर गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो खटिएर कार्यालय सहयोगीलाई पक्राउ गरिएको छ भने अरु दुई जना फरार छन् । हृयाक भएको भनिएको कम्प्युटर चाहीँ अनुसन्धान ब्युराले लगेको छ ।

ह्याक भएको कम्प्युटरमा विद्यार्थीको मार्कसीटदेखि प्रश्नपत्र र इञ्जिनियरिङ पढिरहेका विद्यार्थीको डाटा छ । १६ गतेदेखि हुने इन्जिनियरिङ स्नातक तहको परीक्षाका लागि प्रश्नपत्र बाहिर ल्याउन कम्प्युटर ह्याक गरिएको हुन सक्ने अनुमान छ ।

यस्ता घटना पहिले पनि हुने तर बाहिर नआएका कारण थाहा नभएको श्रोत बताउँछ । तर परीक्षा नियन्त्रण कार्यालयबाट सबै डाटा उडेको हल्ला बाहिर फैलिएको छ । तिसौं हजार विद्यार्थी पोखरा विश्वविद्यालयसँग सम्बन्धित छन् । विद्यार्थीका सबै टाडा उडेको भनेर विद्यार्थी र परिवारमा चिन्ता बढेको छ ।

विद्यालयले भने विद्यार्थीका सबै डाटा सुरक्षित रहेको जनाएको छ । ‘कम्युटरमा रहेका अभिलेखहरु चोरी, नष्ट वा हेरफेर गरिएको हुनसक्ने भएपनि अभिलेखका सम्पूर्ण ब्याकअप सुरक्षित रहेको क्याम्पस प्रशासनले जनाएको छ ।