नागढुङ्गामा विकास समाजको सुरक्षा बैठक सम्पन्न
पोखरा, माघ २६ ।
पोखरा महानगरपालिका वडा नं. ८ स्थित नागढुङ्गा विकास समाजले समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत १२ औं बैठकमा टोलको सुरक्षा सम्बन्धी छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरालले वडाको अग्रणि संस्थाको रुपमा नागढुङ्गा विकास समाज रहेको र यहाँको सरसफाई, सचेतना, कौशीखेती तथा सुरक्षा जस्ता विषयमा समाजको काम सह्राहनीय रहेको भन्दै सधैं यस्ता सृजनात्मक कामलाई सहयोग गर्ने बताए ।
सुरक्षा विषयमा स्थानीयले उठाएका जिज्ञासाको समेत उत्तर दिंदै प्रहरी निरीक्षक बुद्धिसागर पुरीले नयाँ बस्ती बसेको र नयाँ मानिसको प्रवेश हुने स्थानमा चोरी लगायतका अपराधका घटनाहरु घट्ने सम्भावना रहने उल्लेख गर्दै आफूहरु पनि सचेत रहन अनुरोध गरे । अपराधशास्त्र सम्बद्ध विभिन्न विषयको चर्चा गर्दै स्थानीयको पहलमा जडान भएको सिसि क्यामेराले अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा समाजका सल्लाहकार भीमनाथ बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने शेष बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।
यसैगरी पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया तथा रेडियो सफलताका स्टेशन मेनेजर दुर्गा अधिकारीले सुरक्षाको महत्वमाथि प्रकाश पार्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
स्थानीय राजेन्द्रमान श्रेष्ठ, एकनारायण ढकाल, विन्धेश्वरी तझ्या, पदमपाणि भट्टराई, दिपक घिमिरे, रिना थापा, मैनादेवी गुरुङ लगायतले सुरक्षा चुनौती बढेको गुनासो गरे ।
कार्यक्रमको अन्त्यमा समाजले शुरु गरेका समाजसेवारुपी महायज्ञमा सदा झै सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्दै समाजका अध्यक्ष डम्मरराज सुवेदीले सबैलाई धन्यवाद दिएका थिए ।
उक्त अवसरमा कौशी खेतीलाई अभियानको रुपमा संचालन गरेको समाजलाई प्राङ्गारिक मल, किटनासक औषधि र स्प्रे सहयोग गरेकोमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुखलाई धन्यवाद व्यक्त गरियो ।
कार्यक्रमको संचालन सचिव अपिला बरालले गरेका थिए ।