नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

 

अबुजा, फागुन २ ।

नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुकाअनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने जनाएको छ ।

यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ ।

यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको जनाइएको छ ।

यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ ओटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ । (रासस–सिन्ह्वा)