नरेशशंकरलाई खुला पत्र !

मीन बञ्जारा
प्रिय नरेश दाइ, जय नेपाल !
पार्टी विशेष बाट हेर्दा जय नेपाल काँग्रेस वृत्तमा प्रयोग हुने शब्द भएपनि मैले यहाँका लागि जय नेपाल नै प्रयोग गरेँ, किनभने पुस्तौँ पुस्ताबाट यहाँको परिवारले मान्दै आएको काँग्रेसको नीति तथा सिद्धान्त यहाँको जिनमा पनि भएको र यहाँको समेत लामो समय काँग्रेसको राजनीतिमा वितेको हुँदा हाल पार्टीले कारवाही गरेपनि यहाँको रगतमा र नशानशामा अझै पनि नेपाली काँग्रेसको रगत बगिरहेको छ भन्ने पूर्ण विश्वास लिएकाले दाइलाई जयनेपाल को अभिवादन नै प्यारो लाग्छ भन्ने मेरो ठहर रह्यो । त्यसैले फेरी एकपटक जय नेपाल दाइ ।

अध्ययनका सिलसिलामा यतिबेला देश बाहिर छु । विदेशिएपछि देश र आफ्नो आस्था प्रतिको माया अझ प्रगाढ हुँदोरहेछ । त्यसैले प्रत्येक साँझ घर फर्कने वित्तिकै नेपाली न्यूजसाइट सँग अपडेटेड रहन्छु । ज्यान यता छ तर मन त्यता छ । देश निर्वाचनमा होमिएको छ र आस्था र निष्ठाको राजनीति जोगाऔं भन्ने मुल नाराका साथ दाइ पनि स्वतन्त्रबाट निर्वाचनको दौडमा हुनुहुन्छ । निर्वाचन प्रणालीमा सबैले जित्दैनन् । दौडमा भाग लिएपछि जीत र हार मध्ये एक हुन्छ नै । दाइको जीत र हार के होला त्यो निर्वाचनको नतिजाले नै बताउला । त्यसैले त्यसतर्फ जान चाहिन । तर दाइको उम्मेदवारीले उब्जाएका केही प्रश्न र केही तर्कनाहरुलाई यो पत्रमार्फत दाइ समक्ष प्रस्तुत गर्न अनुमति मागें ।

दाइले आफनो प्रचार गर्दा आस्था र विश्वासको राजनीति जोगाउँ भन्नुभएको छ । निष्ठा र आस्थाको राजनीति भनेको के हो दाइ ? आफुसँगै दौडमा दौडिएको प्रतिष्पर्धीले चुनावी दौडमा टिकट पाएपछि त्यसको विरुद्धमा बागी उम्मेदवारी दिनु निष्ठा हो कि आस्था हो ? एकपटक अवसर नपाउँदैमा बर्षौैदेखी आँफु लागिपरेको पार्टी र यसको सिद्धान्तको विरुद्ध हात धोएर लागिपर्नु आस्था हो कि निष्ठा हो ?

 

जान अन्जानमा जीवनमा स–साना गल्ती नगर्ने मान्छे कोही हुँदैनन । तर जीवनमा यस्तो गल्तीहरु गर्नु हुँदैन जुन गल्ती अन्तिम सास चल्ने बेला सम्म पनि पछुतो लागोस । जुन गल्तीले आफ्ना पूर्खाको विरासत भत्काओस् र आफ्ना सन्ततीले समेत आफना अभिभावकमा गर्व गर्न नसकुन् । कास्की काँग्रेस यहाँका लागि पार्टी मात्रै होईन परिवार हो । यो परिवारले हिजोसम्म गर्व र इज्जतले लिने यहाँको नाम भोली नाक खुम्च्याएर वा कुनै आक्षेपका साथ लिने नाम नहोस् भन्ने शुभेच्छाले मात्रै दाइको शुभचिन्तक भएको हैसियतले यो पत्र दाइलाई लेख्दैछु । श्रीमानको रिसले सौताको काखमा सु गर्दीनु उचित होइन भन्ने एउटा नेपाली उखान छ । एउटा व्यक्ती सँगको यहाँको असहमतीले कास्की काँग्रेसलाई यहाँले दिनुभएको धोका र छलले यहाँलाई न घरको न घाटको बनाउने पक्का छ ।
हामीले आज गरेका क्रियाकलापले हाम्रो आज मात्रै होइन भोली समेत निर्देशित गरिरहेको हुन्छ । अघिल्लो स्थानीय चुनावको दौरान यहाँको नाम मेयर पदका लागि चर्चामा थियो । तर अन्तिम अवस्थामा रातारात नाम फेरीयो भन्ने सुनियो । तपाइलाई निको नलाग्नु स्वाभावीक हो । म बुझ्छु । तर थोरै धैर्यता देखाएर दाइले त्यती बेला निर्वाचनमा सहयोग गर्नुपर्ने दाइको कर्तव्य थिएन र ? आँफुले टिकट नपाएपछि यहाँले नेपाली काँग्रेसका उम्मेदवार प्रति त्यतिबेलै पनि मौन विरोध जनाएर कहिँ कतै असहयोग गरेको भन्ने चर्चा काँग्रेसी वृत्तमा अझै सुनिन्छ । र आज यहाँले टिकट नपाउनुको पछाडीको कारण पार्टी हेडक्वाटरले यहाँको त्यतीबेलाको असहयोगलाई मुल्याङ्कन गरेर अहिले यहाँले टिकट नपाउनुभएको होला भन्ने लाग्दैन तपाईंलाई ?

के काँग्रेसमा टिकट पाउनुपर्ने तपाई भन्दा पुराना, निष्ठावान र समर्पित कार्यकर्ता कोही थिएनन् ? यहाँले पटक पटक टिकट पाउँदा तिनिहरु प्रति अन्याय भएको हो कि होइन त्यसो भए ? २८ बर्षमा यहाँ उपमेयर हुँदा के तपाईभन्दा पुराना कार्यकर्ताको अवमुल्यन भएको हो, त्यसो भए ? त्यतिबेला तपाईं विरुद्ध बागी किन उठेनन् कोही ? यसैलाई चाहीं बल्ल निष्ठा र संस्कार भनिन्छ दाइ, जो त्यतिबेलाका पूराना काँग्रेसी दाजुभाइ दिदी बहिनीहरुले यहाँलाइ देखाउनुभएको थियो ।

तपाई व्यक्तिलाई गाली गर्न स्वतन्त्र हुनुहुन्छ । व्यक्ति खराब हुन सक्छ तर संस्था खराब कहिल्यै हुँदैन । तपाईंका प्रतिष्पर्धिले पैसाले टिकट किनेर लिएर आए भन्ने आक्षेप तपाई लगाउँदै हुनुहुन्छ । तपाईंको यो आक्षेप तपाईंका प्रतिष्पर्धिलाई होइन सिंगो काँग्रेस पार्टीलाई लगाउँदै हुनुहुन्छ । काँग्रेस पैसा लिएर टिकट बाँड्छ भन्ने आरोप लगाउँदै हुनुहुन्छ । यदि यो आरोप साँचो हो भने तपाईं पहिला उत्तर दिनुहोस् आजसम्म पाँच सात पटक विभिन्न पदमा रहिसक्नु भएको छ । त्यतिबेला तपाईंले कति बुझाउनुभयो पार्टीलाई ? यदी बुझाउनुभएको छैन भने अहिले पैसा लिएर टिकट दिएको भन्न कसरी सक्नुहुन्छ ? र यदि बुझाउनुभएको थियो भने यस्ता गलत काम गर्ने तपाईंले आस्था र निष्ठाको कुरा गर्न कसरी सुहाँउछ र दाई ?

आगोमा हिंड्छु भनेर सोच्नु बहादुरी हो । साँच्चै आगोमा हिंड्नु चाँही बेवकुफी । सानो मनमुटाव र असहमति पश्चात दाइले उठाउनुभएको यो वागी कदम दाइकै राजनैतिक जीवनका लागि आत्मघाती गोल ठहरनेछ । तपाईं जुवा खेल्न पाउनुहुन्छ तर बदलामा तपाइ के हार्दै हुनुहुन्छ भन्ने चाँही महत्वपूर्ण हुन्छ । अहिले तपाईंको वरपर रहेर तपार्इंलाई ढाडस दिएझैं गर्नेहरु भोली तपाईंसँगै रहलान् नरहलान् भन्न सक्दिन तर एउटा कुरा चाँही पक्का छ । पूरानो काँग्रेसी जिन बोकेको तपाईं जत्तिको मानिसले यसरी काँग्रेसलाई धावा चाँही आफ्नै खुट्टामा उभिएर बोलिरहनुभएको छैन । यहाँका पछाडी यहाँलाई धाप दिएझैं गरी टेको लगाउने वा हात दिने ठूला ठूला हातहरु कतिबेला पछाडीबाट हट्नेछन् र यहाँ भुईंमा पछारीनुहुनेछ त्यो हेर्न धेरै समय कुर्न पर्दैन, यहाँलाई राम्रोसँग थाहा छ । अर्काको खुट्टामा उभिएर दुईचार कदम हिंड्न सकिएला तर दौड जित्न पटक्कै सकिँदैन ।

सामाजिक सञ्जालमा यहाँको पेज र नाममा पोष्ट भएका सामाग्रीहरुलाई राम्रो सँग केलाउनुभयो भने यहाँलाई धेरै कुरा प्रष्ट हुन्छ । यहाँलाई शुभकामना दिने धेरैजसो इतर काँग्रेसी छन् भने यहाँलाई यो कदम गल्ती भयो सच्याउनुस भनेर भन्नेहरु तपाईंलाई र काँग्रेसलाई माया गर्नेहरु छन् । त्यसले पनि प्रष्ट हुन्छ दाइको यो कदमबाट कसलाई फाइदा हुन्छ र कसलाई घाटा ।

दाइको लामो राजनैतिक इतिहासमा दाइले स्थान नपाउनु भएको पनि हैन । नेपाली काँग्रेसको नगर सचिव, नगरसभापति, जिल्ला कोषाध्यक्ष, जिल्ला सचिव, महासमिति सदस्य, केन्द्रिय विभाग सदस्य, उपमेयर, मेयरको टिकट, नगर योजनाको सभापति लगायतका विभिन्न तह र तप्कामा रहेर काम गर्ने अवसर प्राप्त गर्नुभएकै हो । यत्रो अवसर पाउँदा पाउँदै पनि दाईले पोखरा र नेपाली काँग्रेसका लागि तात्वीक रुपमा फरक पर्ने के काम गर्नुभयो ? यसको उत्तर दिन दाइलाई असाध्यै कठिन छ, मलाई थाहा छ । तर पनि नेपाली काँग्रेसले तपाइलाई निरन्तर विश्वास गर्दै जिम्मेवारी दिँदै आएको थियो । आफैंले आफैंलाई सोध्नुस, अन्तिम पटक मेयरको चुनावमा पराजीत भएपछि दाइ व्यक्तिगत व्यवसायमा कति अल्झनुभयो र नेपाली काँग्रेसको पार्टी कार्यालयमा कति पटक पुग्नुभयो ? काँग्रेसलाई बलियो बनाउन दाइले यो बीचमा के गर्नुभयो ? स्थानीय निर्वाचनमा दाइको कति सहयोग रह्यो ? यि सबैको उत्तर खोज्नुभयो भने आज दाइ किन यहाँ हुनुहुन्छ भन्ने तपाईं आफैंलाई प्रष्ट हुन्छ ।

नेपाली काँग्रेसलाई चौतर्फि आक्रमण भएको यो बेला हामी फुटेर होइन जुृटेर जानुपर्ने अवस्था थियो । तर दुर्भाग्य, यस्तो कठिन बेलामा दाइ जस्तो जिम्मेवार व्यक्तिले नेपाली काँग्रेसका पक्षमा दह्रो सँग उभिनुपर्नेमा वागी उम्मेदवारका रुपमा प्रस्तुत भएर आँफुलाई, नेपाली काँग्रेसलाई र लोकतन्त्रलाई नै कमजोर बनाउने खेलमा लागिरहनुभएको छ । जुनबेला काँग्रेस बलियो थियो त्यतिबेला यहाँले त्यसबाट फाइदा लिनुभयो र हाल चौतर्फी आक्रमण भएको बेला मैदान छोडेर भाग्ने दाइको यो कदमले यहाँलाई चरम अवसरबादी भन्न मिल्दैन र ?

अझ दुखलाग्दो कुरा त के भने, आफ्नो यही अर्कमण्यतालाई छेक्न दाइले यतिबेला समग्र नेवार समुदायमाथीको अविस्वास हो भनेर प्रचारवाजी गर्नुभएको छ भन्ने सुनेँ । दाइ, तपाईंको उम्मेदवारीले चाहीँ बरु समग्र नेवार समुदायप्रति अन्याय गरेको छ भन्ने मेरो बुझाइ हो । पुस्तौँ देखी नेपाली काँग्रेसप्रति आस्था भएका तमाम नेवार समुदाय बरु यहाँको बागी उम्मेदवारीले दुखित भएको र यहाँ एकजनाले गर्दा सम्पूर्ण नेवार समुदायको बर्षौंदेखीको नेपाली काँग्रेस प्रतिको आस्था र विश्वासमा प्रश्न चिन्ह खडा गरेको महशुस गरेको छु । यो नेवार समुदाय प्रति यहाँले गर्नुभएको अन्याय हैन र ? अब पनि हामी नेवार, बाहुन, क्षेत्री, दलित वा जनजाती भनेर विभाजनको राजनीति कहिले सम्म गर्ने ? यस्ता विभाजनले कस्तो परिणाम ल्याउँछ भन्ने हामीले भोगीसकेका छौँ । हामी समग्र पोखरा र पोखरेली एकजुट हुनुपर्ने बेला जातको नाममा आम मतदाताको भावनासँग खेलेर गरिने राजनीतिले हाम्रो समाजलाई कता पु¥याउँछ दाइ ? दाइ कृपया बुझिदिनुहोला, नेता कुनै समुदाय र जातको मात्रै हुँदैन उसले बोक्ने विचार र आस्थाको हुन्छ र यतिबेला त्यो आस्थाको राजनीतिमा नेपाली काँग्रेस लागिपरेको छ ।
अझै गन्थन गर्ने मन थियो दाइ तर भित्रैसम्म यहाँको उम्मेदवारीले म जस्ता सच्चा काँग्रेसीहरुको मनमा ठेस पु¥याएको छ । तपाईंहरु दुईको जुँगाको लडाईंले नेपाली काँग्रेस पार्टी कमजोर भयो भने यहाँलाइ समयले माफी दिँदैन । त्यति कुरा निवेदन गरें । अझै पनि सँच्चिने बेला छ । नेपाली काँग्रेसका पक्षमा समर्थन दिनुहोस् र लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा यहाँको सक्रियता रहोस् । जय नेपाल ।।

तपाईं र नेपाली काँग्रेसको शुभचिन्तक !
पोखरा १६
हाल अष्ट्रेलिया

प्रतिक्रियाका लागि-meenbanjara@gmail.com