नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा

पोखरा, असोज २३ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित भइसकेको बताएका हुन् ।
मुलुकी ऐनका लागि ५ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्न मात्र बाँकी रहेको उनको भनाई छ । ‘जंगबहादुर राणाको पालादेखीको मुलुकी ऐन मेरै पालामा परिवर्तन हुँदैछ । नयाँ मुलुकी ऐनको लागि ५ वटा विधेयक पारित भइसकेको छ, उनले भने– अब त्यो राष्ट्रपतिले प्रमाणिकरण गर्न मात्र बाँकी छ ।’
मन्त्री थापाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको चुनाव अनुकुल वा प्रतिकुल जुनसुकै हालतमा हुने ठोकुवा समेत गरे । मन्त्री थापाले गैरआवासीय नेपालीलाई राजनीति गर्नका लागि पनि खुल्ला गर्न सकिनेबारे छलफल गर्न सकिने बताए ।
यसअघि आर्थिक, सामाजिक लगायत गर्न गैरआवासीय नेपालीहरुलाई खुल्ला छाडिएपनि राजनीतिमा प्रतिबन्ध लगाइएकाले त्यसलाई पनि खुल्ला गर्नका लाग बहस र छलफल गर्न सकिने उनको भनाइ थियो ।
उनले गैरआवासीयलाई नागरिकता दिने विषयमा समेत सकारात्मक रहेको र यसका लागि कानून मन्त्रालयले गृह मन्त्रालयलाई लेखेर पठाइसकेको जानकारी दिए । कार्यक्रममा सांसद जीवन परियारले सकभर वैदेशिक रोजगारीमा नजाने वातावरण निर्माण गर्ने र गएकाहरुलाई पनि फर्केर आउने वातावरण निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।
सांसद शारदा पौडेलले सुन्दर र पर्यटकीय नगरी पोखरालाई अन्तर्रा्ष्ट्रिय स्तरको सहर निर्माण गर्नका लागि विदेशमा सिकेका सीप, ज्ञान र अनुभवलाई प्रयोग गर्न आग्रह गरे । समाजका संयोजक पूर्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री खगराज अधिकारी, एनआरएन युकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनहरु शिशिर भट्ट, राम रानाभाट, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठ, डिल गुरुङलगायतले बोलेका थिए ।
‘विश्वभरीका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ मंगलबार सम्पन्न हुने सम्मेलनले २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । विदेशमा सिकेका सीप, ज्ञान र अनुभव कास्कीमा लगाएर समृद्ध कास्की बनाउने उद्धेश्यले समाज गठन भएको संस्थाको यो पहिलो सम्मेलन हो ।