नयाँपुलमा नयाँ पेट्रोलपम्प

पोखरा, असोज २५ ।
कास्कीको नयाँपुलमा नयाँ पेट्रोलपम्प सञ्चालनमा ल्याईएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष समेत रहेका जीवनाथ पौडेलले पेट्रोलपम्प सञ्चालनमा ल्याएका हुन् । पर्वतको पातिचौरदेखि हेमजासम्म कतैपनि पेट्रोलपम्प नहुँदा गाडीलाई समस्या हुन थालेको गुनासो आएपछि त्यसको समाधानका लागि पम्प सुरु गरेको उनले बताए ।

‘यति लामो राजमार्ग छ । पेट्रोलपम्प नजिक छैन, उनले भने–कहिलेकाहीँ बीचैमा तेल सकियो भने पोखराबाट झिकाउनुपर्छ । त्यसकै सहजताका लागि पम्प चलाएको हो ।’ खासगरि नयाँपुल क्षेत्रलाई नै लक्षित गरि पम्प सञ्चालनमा ल्याएको पौडेल बताउँछन् ।

साढे ३ करोड लागतमा ५ रोपनी क्षेत्रफल भित्र पेट्रोलपम्प सञ्चालन गरिएको हो । पम्पसँगै होटल समेत सञ्चालन गर्ने तयारी भैरहेको अर्का सञ्चालक लोकराज पौडेलले जानकारी दिए । ‘९ रोपनी मध्ये ५ रोपनीमा पम्प छ । बाँकी क्षेत्रमा होटल सञ्चालन गर्ने योजना छ, उनले भने–होटल निर्माणको काम पनि चलिरहेको छ ।’ उनका अनुसार सहजताका लागि एटिएमको समेत ब्यवस्था गरिएको छ ।

पैसा झिक्ने, जम्मा गर्ने र बिजुलीको पैसा तिर्ने ब्यवस्था सहितको मेसिन राखिएको उनी बताउँछन् । ‘नयाँपुल क्षेत्रमा उपभोक्तालाई विजुलीको पैसा तिर्न पोखरा पुग्नुपर्दैन । आँफुसँग भएको पैसा डिपोजिट गर्न पनि मिल्छ, उनले थपे–आईएमई गर्ने र पैसा निकाल्ने सुविधा पनि एउटै मेसिनमा छ ।’

पेट्रोलपम्पको बुधबार एक कार्यक्रमबीच पेट्रोलियम डिलर्स एशोसियसन नेपालका अध्यक्ष लिलेन्द्रमान प्रधानाङगले उद्घाटन गरे । उनले पेट्रोलियम पदार्थमा हुने शुद्धतामा बढी ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अपायक क्षेत्रमा पम्प सञ्चालन गर्दा उपभोक्तालाई सहज हुने बताए ।

काँग्रेसका महासमिति सदस्य बाबुराम आचार्य, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँर लगायतले गाडीको आयातसँगै त्यसको ब्यवस्थापन र आवश्यक पेट्रोलियम पदार्थको ब्यवस्थापन नभै नहुने बताए । पम्पमा डिजल र पेट्रोल गरि ५६ हजार लिटर भण्डारण क्षमता छ । खपतका आधारमा क्षमता बढाउन मिल्ने संचालकले बताए ।