‘नकारात्मक खालका गीत गाए र उत्पादन गरे कारबाही’

 

काठमाडौं, कार्तिक ५ ।

राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भएरगरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरन्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।

लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सन्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याइ समाजमा नकारात्मक असर पर्नेखालका गीत–संगीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री–वितरण नगर्नरनगराउन अनुरोध गर्दछौं ।’

सो गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यमपञ्चक तिहारको समयमा यात्रीहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घन्टा परिचालन गरिएको जनाएको छ ।

जिल्लागतरुपमा चाडाडकेन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सन्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्व अन्तर्गत् आ–आफ्नो तर्फबाट सेवा र्पुयाउन आग्रह गरेको छ ।

प्रज्वलनशील पदार्थ प्रयोग र उत्पादनमा कडाइ

गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारबाही हुने जनाएको छ ।

दीपावली मनाउनेक्रममा भुइँचम्पा, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विस्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरिद, बिक्री–वितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

कसैले यस्तो गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै गुनासो वा कानुनविपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै मन्त्रालयले अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको उल्लेख गरेको छ ।

ठगी गर्ने, कानुन मिच्ने, लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्रीजस्ता गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।
(रासस)