धेरै भाडा असुले प्रहरी फन्दामा

पोखरा, असोज ८ ।
सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा बसेका हुन् । उही दिन निस्कँदा टिकट पाइन्न कि भनेर टिकट लिन लाइनमा बसेको उनले सुनाए ।
‘सिट नपाइन सक्छ, बच्चाबच्ची र सामानसहित जाँदा निकै अप्ठेरो हुन्छ,’ उनले भने,‘त्यसैले टिकट लिन आएको हुँ ।’ उनीजस्तै लाइनमा बस्नेको लाम शनिबार पृथ्वीचोकमा रहेको पृथ्वी राजमार्गको बस टिकट काउन्टरमा लाइन देखिन्थ्यो ।सहज र सुरक्षित यात्राका लागि टिकट काट्न उनीहरु यसरी लाइनमा बसेका हुन् । त्यसो त पृथ्वीचोकमा पोकापन्तुरा बोकेर बस कुर्नेहरु पनि शनिबार प्रशस्तै देखिन्थे ।
दशैंको दिन नजिकिँदै जाँदा यहाँबाट बाहिरिने यात्रुहरुको चाप बढेको छ । पोखराबाट विभिन्न नाका हुँदै बाहिरिनेको संख्या शनिबारसम्म ६५ हजार नाघिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापा अनुमान गर्छन् । रोजगारी तथा विभिन्न पेशा व्यवसायका लागि पोखरा आएकाहरु अहिले घर फर्कन थालेका हुन् ।
पोखराबाट देशका झन्डै सबैभागमा सेवा दिएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार दशैंका लागि मात्र टिकट बुकिङ गर्नेको संख्या शनिबारसम्म ६ हजार नाघेको छ । मंगलबार साँझसम्म २ हजार यात्रुले टिकट काटेकोमा बिहीबारसम्म ३५ सय यात्रुले टिकट बुक गरेका थिए । २ दिनमा शनिबार साँझसम्म थप २५ सय यात्रुले टिकट बुक गरेका हुन् । शुक्रबार र शनिबार थप २५ सयले टिकट काटेका छन् ।
यो संख्या २५ हजार भन्दा बढी हुने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए । पोखराबाट दशैंका बेला ५० हजारभन्दा धेरै यात्रु पृथ्वीका गाडी चढेर बाहिरिने केसी बताउँछन् । अन्य सार्वजनिक यातायात र निजी सवारी साधनबाट बाहिरिनेको संख्या १ लाख ५० हजार हुने उनले बताए । उनको भनाइमा ट्राफिक प्रवक्ता थापा सहमत छन् । थापाले विद्यालयहरु बन्द भइसकेकाले धेरै यात्रु दशैं मनाउन फर्किसकेको जानकारी दिए ।
पृथ्वीको समितिका महासचिव योगेन्द्र केसीका अनुसार अहिले नियमित पोखराबाट ३५ वटा रात्रि बस छुट्ने गरेका छन् । दशैंको बेला त्यसलाई थपेर दोब्बर बनाइएको छ । यात्रुको चाप भए तुरुन्तै गाडिको व्यवस्था मिलाइने उनले जानकारी दिए ।‘पोखराबाट बाहिरिने यात्रुका लागि यातायातका साधनको समस्या छैन,’ उनले भने, ‘आवश्यक भएको जानकारी भए १ घन्टाभित्रै व्यवस्था हुन्छ, त्यसका लागि व्यवसायीलाई पहिल्यै आग्रह गरेका छौं ।’
पोखराबाट बाहिरिने अधिकांश यात्रुले गाडीको टिकटै नकाटी पनि यात्रा गर्ने यातायात व्यवसायीहरु बताउँछन्् ।छोटो दुरीका यात्रुले टिकट नकाटीकनै चोकचोकमा बसेर गाडी ढुक्ने गर्छन् । उनीहरुले टिकट काट्न भन्दा पनि बार्गे्निङ गरेर यात्रा गर्ने गरेको पाइएको छ ।
टाढाको यात्रा गर्ने अधिकांशले भने टिकट काट्ने गरेका छन् । यहाँबाट काँकडभिट्टा, धरान, कटारी, विराटनगर, जनकपुर, वीरगन्ज, फत्तेपुर, सिन्धुली, महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगन्ज, दाङ लगायत शहर पुग्ने यात्रुले टिकट काट्ने गरेका छन् ।
अरुबेला बार्गे्निङ गर्दा सस्तोमा चढ्न पाइने भएपनि चाडबाडका बेला चाप धेरै हुनेहुँदा यात्रु उल्टो ठगिने सम्भावना हुन्छ । त्यसैले टिकट काटेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले सुझाव दिएका छन् । यस्तोबेला सामान एउटाको अर्कोमा पर्ने, आफू चढेको यातायातको साधन कुन हो भन्ने यात्रुले पत्तो नपाउने जस्ता समस्या धेरै प्रहरीकहाँ आइपुग्ने उनी सुनाउँछन् ।
‘सामान मिस प्लेस भयो भन्ने गुनासो आउँछ, कुन गाडीमा हो भन्यो भने यस्तो कलरको गाडी भन्छन्,’ उनले भने पहिचान गर्नै निकै कठिन हुन्छ ।’
टिकट काटेर यात्रा गरे पहिचान गर्नपनि सहज हुनेर तोकिएभन्दा धेरै भाडा तिर्नपनि नपर्ने उनले सुनाए । खासगरी नारायणगढ, बागलुङ, बेसीशहर, स्याङ्जा र बुटवल लगायत ठाउँ जाने यात्रुले टिकट नकाट्ने गरेको महासचिव केसीले बताए । समितिले टिकट काट्न आग्रह गरिरहेको उनको भनाइ छ । टिकट काटेर यात्रा गर्दा बिमा लगायत सुविधा यात्रुले पाउँछन् । नकाट्दा केही भइहाले विवाद हुन सक्छ ।
दशैंका बेला यात्रुले वर्षभरि कमाएको रकम साथैमा लिएर यात्रा गर्नेे, गरगहना लगाएरै यात्रा गर्ने र खानपानमा ख्याल नगर्दा ठगिनेसमेत अवस्था अउन सक्छ । यस्तो बेला यात्रुलाई समेत समयमै सचेत गराउने, बीचबीचमा अनावश्यक सवारी नरोक्न र सुरक्षित अनि सार्वजनिक शौचालय भएको ठाउँमा मात्र रोक्न चालक सहचालकलाई सुझाएको केसीले जानकारी दिए ।
‘चाडबाडका बेला आउन सक्ने जोखिमप्रति हामी सचेत छौं,’ उनले भने,‘चालक सहचालक र यात्रुलाई समेत हामी सचेत ढंगले यात्रा गर्न गराउन भेनका छौं ।’ उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति आफैले पनि बीचबीचमा छड्के जाँच गर्नेछ र यात्रालाई सहज बनाउने छ । विशेषगरी टीकाको अघिल्लो दिन, टिकाको दिन र भोलिपल्टका लागि बसहरुका लागि क्यु फ्री गरिएको छ ।
यो अवधिमा यात्रुको आवश्यकता र चाप हेरेर जुनसुकै क्षेत्रमा पनि सेवा दिन गाडी धनी र चालकलाई रोक लगाइने छैन ।टीकाको अघिल्लो दिन र टिकाको अवधिमा यात्रु ठगिएको गुनासो आउने गरेकाले तोकिएभन्दा धेरै पैसा तिर्नुपरे प्रहरी वा स्वयं समितिमा फोन गरे रकम फिर्ता गराइन केसीले जानकारी दिए । ‘टीकाको दिनमा पनि सेवा दिँदा केही थप लिऔं भन्ने लाग्न सक्छ, तर त्यसो गर्न पाइन्न,’ उनले भने,‘त्यसो गरेको पाइए हामीलाई जानकारी गराउनुहोस्, कारबाही हुन्छ ।’
दशैंलाई ध्यानमा राखेर राजमार्गका पहिरो हटाउने र ठूला खाल्डाखुल्डी पुर्नेकाम भएको पश्चिम क्षेत्रीय सडक भिजन कार्यालय पोखराका निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले देशका अधिकांश राजमार्गमा निर्वाध यातायातका साधन गुड्न सक्छन् ।
कहिँ कतै पहिरो गए वा विपत्तिकै कारण सडक अवरोध हुने अवस्था आए तुरुन्त बाटो सफा गर्न आवश्यक साधन र स्रोत तयारी अवस्थामा छ ।
पत्रकार गोविन्द सुवेदीले समाधान दैनिकका लागि लेखेका हुन् ।