धनगढीलाई राजधानी तोकेपछि अनिश्चितकालीन डोटी बन्दको घोषणा

डोटी, माघ ३ ।
सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि असन्तुष्टी जनाउदै दिपायलमा तानव सिर्जना भएको छ । डोटीको दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने भन्दै यस अघि नै आन्दोलन जारी राखेका दिपायलवासीले सरकारले अस्थायी राजधानी तोकेसँगै बन्द सुरु गरेका हुन् ।
आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा गरेको छ भने नागरिकहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । सरकारको निर्णय बाहिर आएसँगै दिपायल बजारमा आन्दोलनकारीहरु आक्रामक भएका छन् । सरकारको निर्णय परिवर्तन नभएसम्म बन्द जारी राख्ने संयोजन समिति तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए ।