धनगढीको गौरिफन्टा नाकामा तनाव, सरकारविरुद्ध नाराबाजी

धनगढी, चैत ११ ।
कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ ।

निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् ।

सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो । सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन । तर ढिला गरी गौरीफन्टा नाका हुँदै उनीहरु नेपाल फर्किएपछि प्रहरीले प्रवेशमा रोक लगाएको हो । रातोपाटी