धनकुटा उद्योग वाणिज्य संघमा ८० दिन देखि लागेको ताला खुल्यो

 

धनकुटा, फागुन १४ ।

धनकुटा उद्योग वाणिज्य संघमा ८० दिनदेखि लागेको ताला बुधबारबाट खुलेको छ ।

सदस्यता वितरण, नवीकरण र सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ताला खुलेको छ ।

नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएपछि नयाँ सदस्यता र नवीकरणको माग गर्दै नेकपा पक्षधर केही व्यवसायीले गत मंसिर २४ गते धनकुटाको सल्लेरीमा रहेको उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

नेकपा पक्षधर व्यवसायीको तालाबन्दीपछि मंसिर २८ गतेका लागि तोकिएको मतदान प्रकृया रोकिएको थियो । निर्वाचन प्रकृया छिटो टुङ्ग्याउनुपर्ने भन्दै लोकतान्त्रिक पक्षधर व्यवसायीले कार्यालयको मूलढोकामा मंसिर ३० गते अर्को ताल्चा लगाए पछि बिवाद लम्बिएको थियो ।

ताला खोलेर दैनिक कामकाज सुचारु गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए । ताला खुलेसँगै उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्व छान्ने बाटो समेत खुलेको छ ।
(ईमेजखबरबाट साभार)