दोविल्ला क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गरिने

 

पोखरा, कार्तिक ३ ।

पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दोविल्लालाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । सो क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले बेलाबेलामा विभिन्न गतिविधी सञ्चालन गर्दै छ । सोही कार्यलाई निरन्तरता दिंदै आइतबार सो क्षेत्रमा बृहत बृक्षारोपण, बृक्षापोषण, फडाँनी, सरसफाई तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

सो क्षेत्रलाई हरित पार्कका रुपमा विकास गर्न समितिले झण्डै ८० रोपनी क्षेत्रमा विगत तीन वर्षदेखि विभिन्न प्रजातिका बृक्ष तथा फलफुल गरि ६ सय बढि बृक्षा रोपण गरिसकेको छ । तिनैमध्ये हुर्कदै गरेका बृक्षहरुको संरक्षण तथा रिक्त स्थानहरुमा बृक्षारोपण एवं मलजल गरिएको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।

आइतबारको कार्यक्रममा नेपाली सेनाको भगवती दल गण, फुलबारी ब्यारेकबाट सेनानी रमेशकुमार बञ्जाराको नेतृत्वमा ३१ जना सैनिक जवानले विशेष सहयोग गरेका थिए । त्यसैगरि स्याङ्जाको टक्सार हलेदे, पोखराको विरौटा, रातोपैह्रा, महतगौडा, लामातरा, प्रगतीटोल, दोविल्ला टोल विकास संस्था, रबेचौर टोल विकास संस्था, भरतपोखरी, निर्मलपोखरी, दुवार टोल विकास संस्था, लामाखेत, बाँसपानी, चिलौनीखर्क, लामपाटा, शिवालय, फोक्सिङ लगायतका स्थानहरुबाट विभिन्न संघसंस्थाका प्रतिधिनी तथा स्थानिय सरोकारवालाहरु गरि झण्डै सयौंको सहभागितामा सो कार्यक्रम गरिएको हो ।

‘संस्कार र संस्कृती बचाऔँ, सचेत र सभ्य नागरिक बनौं’ भन्ने नारा सहित समितिले दोविल्ला घाट क्षेत्रलाई पवित्र धार्मिक स्थलका रुपमा विकास गर्ने समितिको योजना रहेको अध्यक्ष रायमाझीले बताए । सदियौंदेखि घाटका रुपमा प्रयोग हुँदै आएको दोविल्ला घाटमा व्यवस्थित शवदाह स्थल, सार्वजनिक शौचालय, मलामिहरुको आरामका लागि प्रतिक्षालय, शिव मन्दिर, बगँैचा लगायत निर्माण गरिने उनको भनाई छ ।