देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

 

दाङ, माघ ५ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गरेका छन् ।

दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले उक्त परियोजना नेपालको हितमा रहेको जिकिर गर्दै संसदबाट जसरी पनि पारित हुने बताए ।

एमसिसी आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको जानकारी दिँदै उनले यति ठूलो रकम अमेरिकाले पहिलो पटक सहयोगमा दिएकाले जसरी पनि पारित गरिनुपर्ने बताए ।

एमसीसी पारित भए विद्युत व्यापार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने दाबी पनि उनले गरे । एमसिसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने भन्दै देउवाले बुटवलदेखि नयाँदिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए ।

कांग्रेस सभापति देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षलाई चित्त दुखेको भन्दै ओली सरकारले दुई बर्षसम्म भ्रष्टाचारबाहेक अरु केही नगरेको आरोप लगाए । उनले उपभोक्ता समितिको नाममा लूट मच्चाइएको पनि बताए ।

भोट हाल्ने बेला एमालेलाई हाल्ने अनि अहिले काँग्रेस चूप लाग्यो भन्ने भन्दै देउवाले मतदातालाई समेत हकारे । उनले प्रदेश नं ५को स्थायी राजधानी छिटो तोक्न पनि ध्यानाकर्षण गराए ।
(ईमेजखबरबाट साभार)