दुर्घटनामा बिरालो मरेपछि ट्याक्सी चालकलाई दुई बर्ष जेल

एजेन्सी, माघ ४ ।
मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् ।

जनावर अधिकारवादी कानुन व्यवसायीले मोहनराजले अनावश्यक रुपमा बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ ।

बिरालोको हत्यासम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो। घटनामा दुई व्यक्ति संलग्न थिए । एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ ।

यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् । अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महशुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु कि आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’