दुखद खबर–दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, स्कार्पियो चालकमाथि आक्रामण

बनेपा, असोज ३० ।
बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा ७५प १९४९ नम्बरको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नम्बरको स्कार्पियो एकापसमा ठोक्किँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला सैलुङ गाउँपलिका–७ बस्ने ३५ वर्षीय सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनकी श्रीमती ३० वर्षीया बिमला लामाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सो स्कुटरमा सवार रहेका लामाको १२ वर्षीय छोरा मनिषको नर्भिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार स्कार्पियो इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको छ । घटना घटेपछि आक्रोशित भीडले हातपात गरेका कारण चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुर सामान्य घाइते भएकाले उपचारपश्चात् थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।