दुखको साथी पोखरेल प्यानल, औद्योगिक क्षेत्रको पूर्ण समर्थन

पोखरा, भदौ २० ।
पोखरा ४ मा आकुरा स्मार्ट लिंक सन्चालन गर्दै आएकी रमा भट्टराई सुवेदी देशको खस्कँदो अर्थ व्यवस्थाबारे चिन्तित छिन् । उत्पादन र बजारीकरण व्यवस्थित नहुँदा धेरै उद्योगी व्यवसायी विस्थापित भए । कोरोना संक्रमणले व्यवसायीलाई विस्थापित मात्रै गरेन, देशकै अर्थ संरचना विथोल्यो । अहिले पनि बजारमा पूरानो अवस्थाको चहलपहल छैन । उद्योगी व्यवसायीको हक हितका लागि खुलेका संघ संस्थाहरु कानमा तेल हालेर बसे । न सरकारसँग समन्वय छ, न राहत प्याकेज । ‘बजार खुलेपनि ब्यापार छैन । आर्थिक मन्दी लागेको छ,’ उनले भनिन्, ‘सीमित व्यवसायीले कमाएपनि धेरै उद्योगी व्यवसायी टाट पल्टिएका छन् । यस्तो दुखमा बोलिदिने कोही छैन ।’ उनले पोखरा उद्योग वाणिज्य संघको नयाँ निर्वाचित हुने टीमले व्यवसायीका मर्कामा मलम लगाउने आशा गरेकी छिन् ।

३४ औं महाधिवेसनका लागि उम्मेद्वारी दिएका अर्जुन पोखरेल नेतृत्वको प्यानलले व्यवसायीका दुख बुझ्न सक्ने उनको विश्वास छ । ‘अर्जुन सर आफै पनि लामो समय उद्योग वाणिज्य संघमा बसेर काम गरिसक्नु भएको छ । संघमा नेतृत्वले धेरै ठूलो प्रभाव पार्छ,’ सुवेदी भन्छिन्, ‘अरुले भन्दा अलि बढि व्यवसायीहरुको समस्या र गुनासो बुझ्नुभएको छ । त्यसैले यो प्यानललाई सबैले साथ दिनुपर्छ भन्ने लाग्छ ।’ अर्जुनले कोरोना संक्रमणपछि व्यवसायीका पक्षमा दैनिक पैरवी गरिरहेका छन् । पोखरेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पैरवीका कार्यक्रम ल्याउने घोषणा नै गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारले चालू वर्षका लागि ल्याएको बजेट र नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई निरुत्साहित गरेको प्रतिक्रिया उनको छ ।

सरकारी बजेटले कर प्रणाली, व्यवसाय नविकरण, बैंकका ब्याज लगायतका विषयहरु स्पष्ट उल्लेख नगर्दा मर्का परेको बताए । भदौ २४ र २५ गते हुने निर्वाचनमा आफूले जितेमा ति समस्या समाधानका लागि निरन्तर लाग्ने उनको प्रतिबद्धता छ । ‘मत माग्न जाँदा अनुभवी युवाको समूह भनेर हौसला दिनुभएको छ । यसमा निकै खुशी छौं,’ पोखरेल भन्छन्, ‘चुनावी घोषणापत्र र मतदाताको विश्वासलाई कहिलै भुल्ने छैनौं । पोखरालाई अर्थतन्त्रको सक्षम बजारका रुपमा स्थापित गर्ने धोको छ ।’ व्यवसायीको गुनासा सुन्न घरदैलोमा हिंडेको टोलीले सोमबार चिप्लेढुंगा, पराजुली मार्ग, सिद्धार्थचोक, मानव अधिकारचोक, पृथ्वीचोक, पोखरा मल, औद्योगिक क्षेत्र लगायत ठाउँमा पुगेर उद्योगी र व्यवसायीहरुसँग भलाकुसारी गरेको छ ।

‘जहाँ गएपछि उत्साह बढेको छ । औद्योगिक क्षेत्रमा सबैले ढुक्क हुनुस् भन्नुभएको छ,’ पोखरेलले अघि भने, ‘सबैको साथ छ । चुनाव जित्ने विश्वास छ ।’ औद्योगिक क्षेत्रका सबै उद्योगीहरुसँग प्यानलले औपचारिक छलफल गरेको थियो । छलफलका क्रममा सबैले सहयोग गर्ने बचन दिएका छन् । पोखरेल प्यानलले ८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत मागिरहेको छ । उनीहरुले आगामी २ वर्ष भित्रमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पोखरा लगानी सम्मेलन गर्ने, विदेशी लगानी भित्र्याउन पहल गर्ने र स्थानीय लागनीकर्तालाई थप लगानी गर्न प्रेरणा प्रदान गर्ने घोषणापत्र छ ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको पोखरेलले बताए ।