दुई महिनामा निर्यातमा २५ प्रतिशतले वृद्धि

 

काठमाडौं, असोज २८ ।

चालु आर्थिक वर्षको दुई महिनामा अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा तीन प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको भदौ महिनासम्ममा दुई खर्ब १७ अर्ब रुपैयाँ व्यापार घाटा रहेकामा यो वर्ष भने दुई खर्ब १० अर्बको मात्रै व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।

साथै, यसै अवधिमा निर्यातमा २५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको भदौ महिनासम्मको तथ्यांकअनुसार आयातमा अघिल्लो वर्षको तुलनामा यो वर्ष एक प्रतिशतले कमी आएको छ भने निर्यात २५ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांक छ ।

अघिल्लो वर्षको यसै अवधिमा दुई खर्ब ३२ अर्बको वस्तु आयात भएकामा यो वर्ष दुई खर्ब २९ अर्बको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

यस्तै, यस अवधिमा निर्यातमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष १४ अर्ब ६९ करोडको वस्तु निर्यात भएकामा यो वर्ष चार अर्बले वृद्धि भइ १८ अर्ब ५० करोड पुगेको भन्सार विभागले जनाएको छ ।

नेपालबाट भारत, चीन, श्रीलंकालगायतका मुलुकहरुमा विशेषगरी चिया, कफी, हस्तकलाका सामग्री, गलैंचालगायतका वस्तुहरु निर्यात हुँदै आएको छ ।(ईमेजखबरबाट साभार)