दुई दिनमा चार लाख ५० हजारभन्दा बढीले राजधानी छाडे

 

काठमाडौं, असोज १७ ।

दसैं मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंकाअनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए ।

योबीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएका पौडेलले बताए ।

अहिले राजधानीमा भित्रिनेक्रम भने न्यून भएको छ । उनकाअनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्री भित्रिएका छन् ।

‘समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद संख्या भने ९ लाख हाराहारीमा पुग्यो । अहिले उपत्यका, नागढुंगालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ । केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले ‘क्यू’मा गाडी गुडिरहेका छन्’–उनले भने ।

उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुंगामा र्‘याकर’सहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए । (रासस)