दुईवटा नागरिकता लिएको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी

रोल्पा, माघ २० ।
रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन् । २०४२ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट भिउदे खत्रीको नाममा ना प्र.नं ३८९२ बाट नागरिकता लिएको र २०४६ साल वैशाख ५ गते नागरिकता टोलीमार्फत गाउँबाटै ना.प्र.नं १८६ बाट वीरबहादुर खत्रीको नामबाट नागरिकता लिएको देखिएकाले छानबिन गरी कारबाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।
एकै व्यक्तिको दुईवटा नामबाट नागरिकता लिएको भन्दै छानबिन गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिए । उजुरी परेपछि दर्ता गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने आफ्नो कर्तव्य भएकाले सोही अनुसार गर्ने डा भट्टराईको भनाइ छ । “झुटा विवरण पेश गरी एउटै व्यक्तिले दुईवटा नागरिकता लिएको हुँदा गाउँको आमभेलाको निर्णयअनुसार कारबाहीका लागि स्थानीय प्रशासनमा उजुरी गरेका हौँ”, उजुरीकर्ता हरिबहादुर पुनले भने। सम्पूर्ण प्रमाण संलग्न गरी उजुरी गरेको पुनले बताए। २०४० सालमा मृत्यु भएका भाइ वीरबहादुर खत्रीको नामबाट गाउँपालिकाका अध्यक्षले दोस्रो पटक नागरिकता लिएको पुनले बताए । सो बारे जानकारी लिन गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।