दीपेन्द्र र पवन चम्किँदा नेपालले युएईलाई हरायो

पोखरा, माघ १८ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । योसँगै नेपाल र युएईले समान १–१ सिरिज जितेको छ । आजको खेल नेपालका लागि जित्नैपर्ने दवाव थियो ।