दार्चेमा १ साता पुजापाठ गर्न नपाईने, बुहारीहरुलाई तत्कालै फर्किन सुझाव

पोखरा, जेठ ६ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालका विभिन्न ठाउँमा पुगिसकेको छ । यसबाट सुरक्षित रहन नागरिक आफैले पनि आफ्नोे हेरचाह बढाउनुपर्ने भएको छ । सरकारले लकडाउन घोषणा गरेपछि आवतजावत रोकिएको छैन ।

गोरखाको शहीद लखन गाउँपालिकामा गाउँ स्तरबाटै लकडाउन पालनाका लागि विभिन्न निर्णय गरेर कार्यान्वयन गर्न थालेका छन् । गाउँपालिकाा ६ दार्चेमा १ सातासम्म पुजापाठ र श्राद्ध गर्न नपाईने नियम बनाईएको छ ।

कोरोना जुनसुकै अवस्थाबाट पनि सर्न सक्ने भएकोले बाहिरी चहलपहल हुने गतिविधि रोक्न यस्तो निर्णय गरिएको गाउँस्तरीय समितिका संयोजक कृष्ण रेग्मीले जानकारी दिए ।

उनका अनुसार गाउँबाट लकडाउन खुकुलो हुँदा य गोरखा जिल्ला भित्रका माइती गएका बुहारीहरुलाई बुधबार साँझसम्म फर्किन आग्रह गरिएको छ । त्यसपछि लकडाउन रहुन्जेल फर्किन निषेध गरिएको छ । जिल्ला भित्र वा जिल्लाबाट बाहिरबाट गाउँमा बस्ने नियतले हुने आवतजावत पनि पूर्ण रुपमा रोकिएको रेग्मीले बताए ।

यो समयमा अत्यावश्यक सामान खरिद गर्नुपरे मात्रै आउजाउ गर्न पाउने र अस्पताल गएर फर्किएपनि अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइन बस्नुपर्ने छ ।

साविकको घैरुङ गाविसभित्र अत्यावश्यक काम पर्दा भने जान सकिने र अत्यावश्यक काम बिना कुनै पनि कामको लागि प्रबेश निशेध गरिएको रेग्मी बताउँछन् । ‘आउजाउ बाक्लै हुन थाल्यो । पहुँच देखाएर गाउँ आउनेहरु झन् धेरै छन्,’ उनले भने, ‘महामारीको बेला शक्तिको दुरुपयोग गर्ने होईन । गाउँ र गाउँलेलाई सुरक्षित राख्ने हो । हामी त्यसमा कटिबद्ध छौं ।’