दादुरा–रुबेला खोप अभियान सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि सुरु

 

पोखरा, माघ २१ ।

नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गरौँ भन्ने मुलमन्त्रका साथ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारदेखि ५ दिनेप्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि संचालन भएको छ ।

गोष्ठिको उद्घाटन गर्दै सामाजिक बिकास मन्त्रालय, गण्डकी प्रदेशका सचिव डिल्लीराम शर्माले दादुरा–रुवेला रोगलाई निवारण गर्नका निम्ति ११ वटै जिल्लाले संवेदनशीलता पूर्वक गरेको कार्यको प्रशंसा गर्दै अभियानलाई तिव्र गतिमा अगाडि बढाउनु पर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको र दातृ निकायले दिएको रकमलाई सही सदुपयोग गर्न सबै निर्देशनालयलाई सुझाव दिए । स्वास्थ्य क्षेत्रका हरेक गतिविधिमा सुशासन र पारदर्शिता अपनाउनुपर्ने भन्दै नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गर्ने अभियानमा सरोकारवाला निकायसँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले सबै एकजुट भएर लागे मात्र यस अभियानले सार्थकता पाउने बताए । उनले हरेक बालबालिकालाई खोपको पहुँचमा पु¥याउनका निम्ति यस अभियानको संचालन गरिएको जानकारी दिए ।

अभियानको बारेमा संचार माध्यमको पूर्ण सकारात्मक सहयोग रहेको भन्दै स्थानिय स्वास्थ्य सस्ंथा, स्वास्थ्यकर्मी, महिलास्वास्थ्य स्वयंमसेविका, जनप्रतिनिधि, विद्यालय आदिबाट जनचेतना जगाउँदै आएको शर्माले बताए । सरुवा रोगहरुको आक्रमण बढ्दै गएको हुँदा ठूलो समस्यालाई निदान गर्नका लागि यस प्रदेशमा अस्पतालको खाँचो रहेको उनले बताए ।

स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखा टेकुका निर्देशक डा. भिमसिंह तिंकरीले दादुरा रुबेला खोप अभियान संचालन तथा नियमित खोपसँगै रोटा खोप र सरसफाई प्रर्बद्धन गर्न सकेमा मात्र कार्यक्रमको पूर्ण सफलता हात लाग्ने बताए । अभियानसँगै सबै कार्यहरु सँगसँगै लैजानुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष बिमला भण्डारीले यो अभियानलाई सफल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गर्दै राज्यले संचार माध्यमसँगको सहकार्यमा बिशेष जोड दिनुपर्ने बताईन् । अहिलेको समयमा लक्षित समूहलाई सूसुचित गर्नका लागि संचार माध्यम नै भरपर्दाे बिकल्प भएका कारण यसको उच्चतम प्रयोग गरि दादुरा रुबेला उन्मूलन तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

सोही अवसरमा बोल्दै एवं बरिष्ठ जनस्वास्थ्य प्रशासकडा. झलक शर्मा गौतमले ९ महिना र १५ महिनाका बालबालिकामा गुणस्तरीय दादुरा रुवेला खोपको दुई मात्रा दिएमा यस रोग पुर्ण रुपमा नियन्त्रण र निवारण गर्न सकिने जानकारी दिए । हालसम्म यस अभियान अन्र्तगत ८०% गाउँपालिका र ५८ जिल्ला पूर्ण खोपयुक्त घोषणा भैसकेको गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक खिम बहादुर खड्काले हरेक स्थानिय तहले औषधिको सहि परिचालन गर्नुपर्ने भन्दै भ्याक्सिन भण्डारणका लागि ठाउँ अपूग रहेको हुँदा सो बारे कार्य गर्नुपर्नेमा जोड दिए ।

५ दिने उक्त अभिमुखीकरण एवं योजना गोष्ठिमा फरक–फरक सेसनमा रहेर दादुरा–रुवेला खोप अभियानका बिषयमा जानकारी गराईएको थियो । डा. रामु शर्मा ,डा. झलक गौतम, डा. अभियान गौतम, जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, नर्सिङ्ग अधिकृत लक्ष्मी मरासिनी, लगायतले आफ्ना प्रस्तुती राखेका थिए ।

मंगलबार (आज) हुने सेसनमा जिल्ला स्तरको सुक्ष्म योजना तयारी अभ्यास, खोप सेसन तयारी र संचालन साथै अनुगमन, सुपरिवेक्षण, दु्रत सुलभ सर्वेक्षण लगायतका बिषयमा प्रस्तुतीकरण हुनेछन् ।

सो गोष्ठिमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु एवं अन्य सम्बन्धित निकायका प्रतिनिधिहरु गरी ५० जनाको उपस्थिती रहेको थियो ।