दाईजोको विकृति देखाउन चलचित्र ‘भोर’

पोखरा, चैत २३ ।
‘भोर’ अधिकांश नेपाली शब्दकोषमा यो शब्द भेटिँदैन । नेपाली भाषीलाई यसबारे बुझाउनुपर्यो भने नेपालीमै उल्था गरेर बताउनुपर्छ । पहाडी र हिमाली तथा तराईका पनि निश्चित बाहेक अधिकांश ठाउँमा भोर शब्द सुनिँदैनन् । मैथीलीसँग जोडिएको यो शब्द भयंकर खँदिलो छ, जसलाई नेपालीमा उल्था गर्दा निकै कमजोर भैजान्छ । ‘द फष्र्ट लाईट’ ईट मेन्स ‘भोर’ पत्रकार सम्मेलनमा भोर फिल्मका निर्देशक यादव भट्टराईले अथ्र्याउँदै थिए । अनि नेपाली अर्थ नि ? पत्रकारको प्रश्नमा उनले बलियो अर्थ जताउन सकेनन् । तर उनको एक्प्रेसनबाट के थाहा लाग्यो भने–भोर भनेको निकै अन्धकारपछिको सानो प्रकाश हुन आउँछ । यो शब्द सँधै प्रयोग हुने नेपालको मिथिला क्षेत्र (मधेश) तिर शब्द बराबरको दैनिकी चाहीँ कहिलै पनि देखिएन । दाईजो प्रथाको विकृत स्वरुपले ढाकिएको मधेश क्षेत्रमा अहिले पनि दिनहुँ जसो महिलाको हत्या हुने गरेको यादव भट्टराईले बताए ।
भोरको प्रिमियर शो लिएर पोखरा आएको फिल्म टोलीले पोखरेली पत्रकारसँग भेटघाट गरेर विकृत समाज परिवर्तनका लागि कलम चलाईदिन आग्रह गर्यो । उनीहरुको ध्यान फिल्मको ब्यवसायिकता भन्दा बढी सामाजिक चेतमा केन्द्रित थियो । ‘फिल्म चल्यो भने टीमले पैसा कमाउँछ । तर पैसा कमाउनका लागि मात्रै फिल्म बनाईएको होईन, निर्देशक भट्टराईले भने–दाईजोप्रथाको उन्मुलन होस् र सबैको ध्यान यसमा केन्द्रित भैदियोस् भन्ने अपेक्षा छ । साथीहरुले यसका लागि कलम चलाईदिनु होला ।’ यही टीमले यसअघि सतीप्रथामा आधारित झोला फिल्म पनि बनाईसकेको छ । भोरलाई विहिबार प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि हेरे । सिनेमाको बारेमा जानकारी लिँदै उनले राज्यले गर्नुपर्ने काम सिनेमाको माध्यमबाट गरिएको भन्दै चलचित्र टीमलाई धन्यबाद दिए । ‘समाज परिवर्तनमा सिनेमा साधन बन्नुपर्छ । समाज परिवर्तनको संबाहक हो सिनेमा, उनले भने–यस्ता सिनेमा अझ लामो समय जीवित भैरहन्छ, जबसम्म नेपालबाट दाईजो प्रथा अन्त्य हुँदैन ।’ सिनेमा हेर्न प्रदेश नं ४ का सांसदहरु, बुद्धिजिवी, सामाजिक अभियन्ता, पत्रकार लगायत हलमा पुगेका थिए । सिनेमाले निकै गहन विषयलाई उठाएको र यस किसिमका सिनेमाले नेपाली समाजमा जरा गाडेर बसेको कु–प्रथालाई हटाउन सहयोग गर्ने उनीहरुको धारणा छ । १ बर्षको अध्ययन र करिब करोड खर्चिएर तयार गरिएको चलचित्रले दर्शकको मन जित्ने निर्माता देवेन्द्रप्रसाद सुवेदीले बताए । चलचित्रमा अधिकांश कलाकारहरु जनकपुरका स्थानीय छन् । कृष्ण धारावासीको कथा रहेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी हुन् भने राज तिमिल्सना र रामगोपाल थापा चिलचित्रका निर्माता हुन् । चलचित्र आउँदो बैशाख महिनाको २१ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।