दरबार हत्याकाण्ड झैं जसले गरे आफ्नै परिवारका ११ को हत्या

एजेन्सी, माघ ५ ।
मोरदाबाद जेलको कुनामा बसेर एक महिला आफ्नो दश वर्षीय छोरालाई चिठ्ठी लेखिरहन्छिन् । उनले ती चिठी दिन बिराएर लेख्ने गर्छिन् । चिठ्ठीमा छोराको सुनौलो भविष्यको कामना गर्दै लेखिएको हुन्छ, ‘राम्रो पढ्नु, ठूलाले भनेको मान्नु, हामी अब छिट्टै भेट्नेछौंँ । त्यतिन्जेल आफ्नो ख्याल गरेर बस्नु ।’

यो उनको एक चिठ्ठीको अन्तिम वाक्य थियो । सबनम अली हत्या अभियोगमा विगत ११ वर्षदेखि जेलमा छिन् । उनले आफ्नो परिवारको ७ जनाको हत्या गरेकी थिइन् । १४ अप्रिल २००८ को रात उत्तर प्रदेशको बवानखेरीमा एउटा वियोगान्त घटना भयो । आफ्नो प्रेमी सलिमको सहायतामा सबनमले आफ्नो परिवारका ७ सदस्यको हत्या गरिन् । आफूहरुको प्रेम सम्बन्धलाई नमान्ने परिवारको निर्णयले सबनम त्यो हत्याकाण्ड गराउन पुगेकी थिइन् । त्यसबेला उनको कोखमा ७ हप्ताको भ्रुण हुर्किसकेको थियो। सशबनमले ८ महिने शिशुको समेत निर्मम हत्या गरिन् ।

सलिम सबनम भन्दा भिन्दै सामाजिक आर्थिक परिवेशका थिए । सबनमसँग सलिमको जात र स्तर मिल्दैनथ्यो । सबनमले अंग्रेजी र भूगोलशास्त्रमा स्नातकोत्तर गरिसकेकी थिइन् । उनी शिक्षिका थिइन् । उनका परिवार साइफी मुसलमान जग्गा जमिनवाल थिए ।

सलिम भने पठान थिए। उनले ६ कक्षा पढ्दापढ्दै स्कूल छाडे । उनी दैनिक ज्यालादारी मजदुर थिए । यसकारण सबनमको परिवारले सलिमसँगको सम्बन्ध रुचाएन । त्यसपछि सबनम र सलिमले त्यो निर्मम घटना गराए ।

घटना घटेको ११ वर्ष बितिसके पनि त्यसको छाप अझैपनि ताजा छ । त्यस गाउँमा ११ वर्षयता सबनम जन्मिएकी छैनन् । कसैले आफ्नो छोरीको नाम सबनम राख्ने हिम्मतसम्म गरेका छैनन् । सबनमका छिमेकी इन्तजार अलीले भने, ‘बवानखेरीमा भएको त्यो घटनापछि कुनै सबनम जन्मिएकी छैनन् । मानिसहरुमा त्यस नामले भय सिर्जना भएको छ ।’

सबनमका काका सत्तर अली यतिबेला हत्याकाण्ड भएको घरमा बस्छन् । उनले भने, ‘सबनम हाम्रो लागि मरिसकी । म उसको नाम लिएर दुखको क्षण सम्झन चाहन्न ।’ सबनमको परिवारको ३० विगाह जमिन थियो । त्यो सबै अब सत्तरको जिम्मामा छ । सबनमका पिता पनि शिक्षक थिए । सबनम साह्रै इमान्दार र प्रतिभावान थिइन् । उनको पढाइसमेत निकै राम्रो थियो । त्यसकारण परिवार उनीप्रति निकै सन्तुष्ट थिए । उनी गाउँकै एक उदाहरणीय युवती थिइन् ।

तर उनले आफ्नो प्रेमीका लागि यस्ता भयानक हत्याकाण्ड रच्लिन् भनेर कसैले सोचेको थिएन । ‘यस घटनाले हामीलाई अचम्मित तुल्यायो, निशब्द बनायो, उनकी प्रेमीको विषयले घरमा केही समस्या उत्पन्न भएको थियो’ सत्तरले भने, ‘तर यो हदसम्मको घटना हुन्छ भन्ने कसैले कल्पना गरेको थिएनौँ ।’ सुरुमा त सबनम घटनाबाट चोखिन खोजिन् । उनले हत्या चोरले गरेको भन्दै आफ्नो संलग्नता अस्वीकार गरेकी थिइन् । उनले हत्या भएको बेला आफू नुहाउन बाथरुममा भएको बताएकी थिइन् ।

तर प्रहरीको अनुसन्धानले सबनम र सलिम नै ११ जनाको हत्यारा भएको पुुष्टि ग¥यो । छिमेकी इन्तजार अलीले भने, ‘उनीहरुको फोन रेकर्डका आधारमा दुबै दोषी भएको पुष्टि भएको थियो ।’ इन्तजारका अनुसार घटना भएसँगै सबनमले बाल्कोनीबाट रुँदै गुहार मागेकी थिइन् । त्यसपछि प्रहरीलाई खबर गर्ने पहिलो व्यक्ति इन्तजार नै थिए ।

पोस्टमार्टम रिपोर्टले हत्या हुनुपूर्व परिवारलाई बिष अथवा शरीर लट्याउने दबाई खुवाएको पुष्टि भयो । त्यसपछि मात्र हतियारको प्रयोग गरी उनीहरुको हत्या भएको थियो । चोरले हत्या गरेको बताएपनि उनीहरुको शरीरमा कुनै चोट देखिएपछि प्रहरीले सबनममाथि शंका गरेका थिए । पछि सबनमले लुकाएको धारिलो हतियार भेटियो, त्यसपछि सबनमसहित सलिम घटना स्वीकार गर्न बाध्य भए । सुरुवातमा स्थानीय अदालतले दुबैलाई मृत्युदण्डको फैसला सुनाएको थियो । तर उनीहरु दुबैले तत्कालिन राष्ट्रपति समक्ष चिठ्ठी लेखे, आफूहरुलाई माफी दिन आग्रह गरे । माफी दिन नसक्ने प्रतिक्रियासँगै उनीहरुलाई कारावासको सजाय सुनाइएको थियो ।

११ वर्षअघि यसै महिना उनीहरुको जीवन या मरणको फैसला हुँदैछ । मृत्युदण्डको फैसला नभए दुबैलाई आजीवन कारावासको सजाय भने कायम रहने छ । ३५ वर्षकी सबनम आफूलाई माफी दिने विषयमा आशावादी छिन् । उनको छोराको उमेर दश वर्ष भइसकेको छ । केही वर्षअघि बुलन्द शहरका पत्रकार उसमान साइफी र उनकी श्रीमतिले सबनमको छोरालाई धर्मपुत्रको रुपमा पालिरहेका छन् । उसमान र सबनम पहिले एकै कलेजमा पढेका रहेछन् । उसमानका अनुसार पढाइमा सबनम उनीभन्दा २ वर्ष अगाडि थिइन् । कलेज जाँदा उनीहरु एउटै बसमा बसमा चढ्दथे । एक पटक उसमानसँग कलेजको फि तिर्ने पैसा थिएन ।

‘सबनमले त्यसबेला मेरो फि तिरिदिएकी थिइन्, त्यसैले उनको छोरा पालेर मैले त्यसको गुन तिर्न खोजेको हुँ’ उसमानले भने, ‘जब मैले सबनमले परिवारको हत्या गरेको समाचार पढेँ, उनलाई प्रहरीले गिरफ्तार गरेको थाहा पाएँ, उनले त्यस्तो घटना गराइन् होला भन्ने विश्वास नै गर्न सकिन । त्यस बेला सबनमले मेरो फि नतिरिदिएको भए सायद आज म यो ठाउँमा हुने थिइन । मैले गर्न सक्ने यत्ति हो कि म उनको छोराको लालनपालन गरिदिन सक्छु ।’ उसमानका अनुसार यदि कुनै हिसाबले सबनम जेलबाट छुटिन् भने उनले छोरा फर्काएर लैजान सक्छिन् । तर मृत्युदण्डको फैसला कुरिरहेकी सबनम जेलबाट छुट्ने अवस्था अत्यन्त कम छ ।