दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, भदौ ३१ ।
प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिने भएको छ । स्व. दयाशंकरका परिवारले स्थापना गरेका तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको यो पुरस्कार यसबर्ष पौडेललाई अर्पण गर्न लागिएको हो । दुई दशक देखि लगातार पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल पोखरापत्र दैनिकमा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
अग्रज पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठन भएको प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपाल पत्रकार महासंघको बैठकले अनुमोदन गरेको हो । समितिमा पराजुली सहित बरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला र नवराज सुवेदी तथा महसंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सीना पदेन सदस्य थिए । हरेक बर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
२०४५ सालमा दृष्टि साप्ताहिकवाट पत्रकारिता सुरु गरेका पौडेल छलफल, वुधवार, जनआस्था, रेडियो नेपाल, पोखरा हटलाईन, हिमाली आवाज, हिमचुली एफ.एम लगायतका छापा तथा विद्युतिय संचारमाध्यममा काम गरिसकेका छन् । पुरस्कार असोज ७ गते बिशेष कार्यक्रमका साथ उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले अर्पण गर्नेछन् । पुरस्कारको राशी ३३ हजार तीन सय ३३ रुपैयाँ छ ।