दक्षिण एसियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण आवश्यक : अर्थमन्त्री खतिवडा

 

काठमाडौं, असोज १९ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरुबीच वित्तीय एकता हुनुपर्ने बताएका छन् ।

भारतको नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एसियाली मुलुकको आर्थिक परिदृश्य’ विषयक सत्रमा सम्बोधन गर्दै उनले दक्षिण एसियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण र आपसमा गहिरो आवद्धतालगायत यातायात, ऊर्जा र सन्चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाले आर्थिक विकासको चरण, मानवस्रोत र प्राकृतिक स्रोतले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसत सात प्रतिशतको हाराहारीमा हुनसक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागलेसमेत असर पार्ने बताए ।

दक्षिण एसियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनलाई विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्नसक्नेमा उनले जोड दिए ।

अर्थमन्त्री डा. खतिवडाले व्यापारका क्षेत्रमा दक्षिण एसियाली राष्ट्रहरुबीच एकार्कामा प्रतिस्पर्धा गर्ने क्षेत्र धेरै रहेको र पर्यटनको विकासबाट रोजगारी सिर्जना भइ आर्थिक वृद्धिमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी र विश्वकै अग्लो शिखर सगरमाथाले पर्यटकलाई धेरै कुरा दिनसक्ने स्मरण गराउँदै उनले नेपालले भ्रमण वर्ष सन् २०२० मनाइरहेको हुँदा नेपाल भ्रमण गर्न सहभागी राष्ट्रका अधिकारीहरुलाई आह्वान पनि गरे ।

उनले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पूर्ति गर्न सार्वजनिक–निजी साझेदारी, मिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (भीजीएफ)लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए ।

भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

अर्थमन्त्री डा. खतिवडाले नेपालमा सार्वजनिक ऋणको अंश कुल ग्राहस्थ्य उत्पादनको ३० प्रतिशत भएको जानकारी गराए ।

सहभागी विभिन्न देशका अधिकारीहरुसँगको भेटमा उनले व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एसियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्डबीच द्विपक्षीय भेटघाट भएको छ ।

भेटकाक्रममा उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजश्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराएका थिए ।

भेटमा अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुसी व्यक्त गर्दै चीन र भारतको बीचमा नेपाल अवस्थित भएकाले यी देशबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताए ।

उनले भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको शिष्टाचार भेटमा द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । (रासस)