तेन्दुलकरको रेकर्ड तोडेपछि भारतीय मिडियामा रोहित पौडेलको चर्चा

काठमाण्डौं, माघ १३ ।
शनिबार युएईविरुद्धको खेलमा अर्धशतक बनाउँदै रोहित पौडेलले सचिन तेन्दुलकरको विश्वकीर्तिमान तोडेपछि भारतीय मिडियामा चर्चा भइरहेको छ । पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक पूरा गर्दै अर्धशतक बनाउने विश्कै सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । शनिबार उनले ५८ बलमा सात चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।

यसअघि टेस्ट क्रिकेटमा यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । एकदिवसीय क्रिकेटमा यो रेकर्ड पाकिस्तानका सहिद अफ्रिदीको नाममा थियो ।

उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । भारतका विभिन्न सञ्चारमाध्यमले उनको चर्चा गरिरहेका छन् । एनडिटिभि, इन्डिया टुडे, टाइम्सअफ इन्डिया, नवभारत टाइम्स, डिएनए इन्डिया लगायतका सञ्चारमाध्यमले यो समाचार प्रकाशित गरेका छन् ।

टाइम्स अफ इन्डियाले समाचारको शीर्षकमा लेखेको छ– नेपालका रोहित पौडेलले सचिन तेन्दुलकरको २९ वर्ष पुरानो कीर्तिमान तोडे, बने अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी । नवभारत टाइम्सले पनि यस्तै शीर्षकमा समाचार राखेको छ । डिएनए इन्डियाले पहिलो अन्तर्राष्ट्रिय अर्धशतकसँगै तेन्दुलकरको रेकर्ड तोडेको विषय शीर्षकमा राखेको छ । नयाँ पत्रिकाले यो खवर लेखेको छ ।