ति शिक्षक–जसले पढाउन छोड्ने सुनेपछि कक्षाभित्रै विद्यार्थीको रुवावासी चल्यो

पोखरा, मंसिर १७ ।
सरकारी विद्यालय भन्ने वित्तिकै अल्छि शिक्षकको दृष्य आँखामा आईहाल्छ । विद्यार्थी पनि उस्तै, उस्तै भौतिक संरचना । तर सबै माथीको लाईनजस्तो कहाँ हुन्छ र ?

गोरखाको शहीद लखन गाउँपालिका स्थित हिमालय मावि । सुविधासम्पन्न भवन, लगनशील विद्यार्थी र कर्मठ शिक्षक । दिनरात विद्यार्थीको भविष्यप्रति चिन्ता गर्दै पढाउने शिक्षक । तिनै कर्मठमध्येका एक शिक्षक शिव श्रेष्ठ ।

१ बर्ष विद्यालयमा अध्यापन गराएपछि निजामति सेवामा श्रेष्ठले नाम निकाले । निजामतिमा नाम निस्किएपछि पढाउन जाने कुरै भएन । उनको नाम निस्किँदा उनी निकै खुशी भए तर त्यो भन्दा बढी दुखी पनि भए विद्यार्थीको भविष्य देखेर ।

श्रेष्ठको नाम निस्किएको सुनेपछि विद्यालयका विद्यार्थीहरु कक्षाभित्रै रुवावासी गर्न थाले । ‘शिक्षकको रुपमा अन्तिम दिन स्कुल गएँ । विद्यार्थीहरुले मेरो नाम निजामतिमा निस्केको थाहा पाईसकेछन्, श्रेष्ठले भने–मेरो पिरियड भरि नै विद्यार्थीहरु निन्याउरो भएर बसे । घण्टी बजेर म निस्किएपछि कक्षाभित्र रुवावासी चलेछ ।’

फुर्सद र छुट्टीमा समेत उनले विद्यार्थीलाई पढाउने काम गर्थे । ‘सरले विदा पनि भन्नुभएन । जतिबेला पनि हामीलाई पढाईप्रति इन्करेज (प्रोत्साहन) गरिरहनुभयो, विद्यार्थी सरिना श्रेष्ठले भनिन्–हामीलाई अव पढाउन आउने शिक्षक कस्तो हुनुहोला भन्ने चिन्ता छ ।’ उनी अधिकांश समय विद्यार्थीकै साथमा हुन्थे र विद्यार्थीलाई सिकाईरहन्थे । श्रेष्ठ शिक्षकको रुपमा विद्यालय गएपछि विद्यार्थीको नतिजा समेत निकै सुधारिएको विद्यालयले जनाएको छ ।