तिलिचोभन्दा अग्लो ठाउँमा नयाँ ताल भेटियाे

नवीन लामिछाने

मनाङ, साउन ९ ।
मनाङको तिलिचो ताल विश्वमै सबैभन्दा अग्लो स्थानमा छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । अहिले त्यो भन्दा अग्लो ठाउँमा अर्को ताल भेटिएको छ । केजिन सारा लेक नाम दिईएको यो ताल मनाङकै चामे गाउँपालिकामा पर्छ । लमजुङ हिमालको बेसक्याम्पमा रहेको यो ताल समुन्द्री सतहदेखि ५ हजार २ मिटर उचाईमा छ ।

करिब १ किलोमिटर ठूलो रहेको विज्ञहरुले बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई चामे गाउँपालिकाले पर्यटकीय प्रकृतिक संरक्षण अभियन लिएर प्राकृतिक स्रोतहरूको खोज अनुसन्धन गर्दै गर्दा यो ताल भेटिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पहिले नै यो ताल देखिएको भएपनि उचाई थाहा थिएन । साउन ५ गते गाउँपालिका, जिल्ला प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङको सहयोगमा तालको क्षेत्रफल र उचाई नापिएको हो ।

उनीहरु तालमै पुगेर नापजाँच गरेका थिए । ताल भएको ठाउँमा पुग्न चामेबाट २ दिन लाग्ने सशस्त्र प्रहरी बलका डिएसपी निलकमल आचार्यले बताए । भर्खरै ताल भेटिएकोले खाने र बस्ने प्रबन्ध नभएको उनको भनाई छ । मनाङ जिल्लामा ४ हजार मिटरभन्दा माथी दर्जनभन्दा धेरै तालहरु छन् ।