पाेखराकाे तालबाराही स्कुल–४० बर्षमा ५ रोपनी जग्गा गायव !

प्रकाश ढकाल
पोखरा, साउन १९ ।
पोखराका अधिकांश विद्यालयहरु सार्वजनिक सम्पत्तिकै भरमा चलेका छन् । कुनै स्कुलहरु गुफाको आम्दानीमा छन् भने कुनै बिद्यालयले सार्वजनिक जग्गामै सटर बनाएर बेचेका छन् । केहीलाई चाहीँ सरकारले नै जग्गा दिएर लालपुर्जा बनाईदिएको छ । पोखरा ६ बैदाममा रहेको तालबाराही माविलाई तत्कालीन नगर पञ्चायतले २०३७ सालमा ११ रोपनी ५ आना सार्वजनिक जग्गा नामसारी गरेर दियो । डिहिकोपाटनमा पञ्चायतले दिएको जग्गा अहिलेसम्म पनि कायमै छ । तर ४० बर्षको अवधीमा आधा जमिन अतिक्रमण भैसक्यो । स्कुलको लालपुर्जाभित्र रहेको ४ रोपनी ६ आना जग्गा अहिले फिल्डमा नरहेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।

‘केही जग्गा नजिकका स्थानीयले चेपेर घर बनाए । केही चाहीँ बाटोले खायो, समितिका अध्यक्ष प्रशुराम शर्मा पहारी भन्छन्–लालपुर्जाको जग्गा खोजिदिन जनप्रतिनिधीसँग आग्रह गर्दा सुन्दैसुन्दैनन् । हामी अन्यायमा प¥यौं ।’ १ रोपनी हाराहारीको जमिनमा नजिकका घरधनीले चेपेर कम्पाउण्ड वाल उठाएका छन् भने केही जग्गा घरको जगभित्रै पर्ने विद्यालयको दावी छ । लालपुर्जाभित्रकै जग्गा गायव भएपछि खोजिदिन विद्यालयले महानगरसँग आग्रह गरेको छ । मालपोत र नापी नक्साको निस्सा अनुसारको जग्गा फिल्डमा नदेखिएपछि जनप्रतिनिधीसँग माग गर्दा वडाध्यक्षले सुनुवाई नगरेको विद्यालयको आरोप छ । ‘पार्क बनाईयो हामीलाई सोधिएन । बाटो बन्यो स्कुललाई एकबचन सोधिएन, विद्यालयकी प्रधानध्यापक भद्रकाली लामिछानेले भनिन्–निर्धो भनेर हेप्न पाईन्छ ? बाबुबाजेको पुच्छरजस्तो सार्वजनिक जग्गा चेपेर विद्यालयलाई भकुण्डो बनाईयो । अहिले जनप्रतिनिधी आउदा पनि हामीले हाम्रो जग्गा फिर्ता पाएनौं ।’ उनले समाजसेवीकै बेवास्ताका कारण जग्गा हराएको गुनासो गरेकी छिन् ।

विद्यालय ब्यवस्थापन समिति कमजोर हुँदा जग्गा हडपिएको उनको आरोप छ । विद्यालयले अहिले आम्दानीका लागि जग्गा लिजमा दिने तयारी गरेको छ । टेण्डर समेत निकालेर संरचना बनाउन लाग्दा जग्गाको विवाद सुरु भएको हो । गएको माघ महिनामा टेण्डर निकालेर विद्यालयले विपुल कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । १८ लाख रुपैयाँ पेश्की लिएर ठेक्का लगाईएको विद्यालयले जनाएको छ । संरचना बनेपछि मासिक १ लाख ५० हजार रुपैयाँ लिने सम्झौता भएको विब्यस अध्यक्ष पहारी बताउँछन् ।

‘स्थानीयलाई अवरोध नहुने गरी मिनिी मार्केट चलाउन जग्गा भाडामा लगाईएको हो, मासिक डेढ लाख लिने सहमति भएको थियो, उनी भन्छन्–अलिअलि आम्दानी हुँदा विद्यालयको दैनिक खर्च चलाउन सजिलो हुन्थ्यो र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन पाईन्थ्यो ।’ उनका अनुसार हाल १४ जना शिक्षक निजी श्रोतबाट राखिएको छ भने उनीहरुलाई विद्यार्थीबाट शुल्क उठाएर तलव खुवाईन्छ । सोही जग्गाको मोहोडातर्फ विद्यालयले १२ वटा सटर बनाएर बेचेको छ । मासिक २ लाख ३७ हजार भाडा सटरबाट आउने पहारीले जानकारी दिए । सबै आम्दानी विद्यालयको ब्यवस्थापनै खर्च हुने उनको भनाई छ । आम्दानी बृद्धीकै लागि टेण्डर निकालेर जग्गा लिजमा दिन लागिएको हो । ठेकेदार कम्पनीले विहिबारदेखि काम सुरु गर्न लाग्दा वडाध्यक्ष र विद्यालय बीच विवाद देखिएको हो । ठेकेदारले काम गर्न लाग्दा स्थानीको अवरोध रहेको भन्दै वडाध्यक्षले काम रोकेका थिए । ‘सार्वजनिक जग्गा लिजमा लिन पनि हालसाविक गरेर अस्थायी स्विकृति लिनुपर्छ । स्कुलको जग्गा कताकति ओभरल्यापिङ छ । त्यो जग्गा विद्यालयले दावी गरेको छ, उनले भने–हतार भयो भन्दैमा नियम नपु¥याई ठेक्का दिन मिल्दैन । सबैको सहमति जुटाउने प्रयास भैरहेको छ ।’ उनले हराएको जग्गा खोजी गर्ने बिषय निकै जटिल भएको बताउँछन् ।

‘वडाभित्र धेरैले जग्गा मिचेको हामीले देखिरहेका छौं । ति जग्गा फिर्ता गराउन सानो प्रयासले सम्भव छैन, उनले थपे–आदेश हुन प¥यो नि । राज्य लाग्नुपर्छ । महानगर वा अरु कुनै निकायको निर्देशन आयो भने अभियानकै रुपमा खोजी हुन्छ । वडाको एकल प्रयासले सम्भव छैन ।’ लामो समयदेखि जग्गा यताउति भएको भन्दै उनले विद्यालय मौन बस्दा समस्या आएको बताउँछन् । ‘आफ्नो सम्पत्ति कहाँ कस्तो अवस्थामा छ स्कुलले खोजवीन गर्नुपर्ने हो । भएभरको समस्या जनप्रतिनिधीको टाउकोमा थुपरेर उम्किन पाईन्छ ?, वडाध्यक्ष पहारी भन्छन्– विद्यालयको प्रअ र अध्यक्ष पनि स्थानीयसँग छलफल गर्नुपर्छ । त्यसो गर्न नसक्ने अनि स्कुलभित्र बसेर मुड्की ताकेर हुन्छ ?’ आफुँपनि विद्यालयको हितका लागि निरन्तर लागिरहेको भन्दै उनले आफुमाथी लागेको चार्ज गलत भएको बताए । विद्यालयको जग्गामा दक्षिणतर्फ ३० फिट चौडाइ र १३० फिट लम्बाइको अस्थायी ट्रष्ट निर्माण गर्न लागिएको छ । त्यससँगै उक्त जग्गामा मुख्य सकडसँगै रहेको १२ वटा सटर सहितको भवन माथि पनि विद्यालयले उक्त कम्पनीलाई ट्रष्ट निर्माणका लागि सम्झौता गरिसकेको छ । विद्यालयको सो जग्गामा तारबार सहित व्यवस्थित पार्क र खेलकुद मैदान निर्माण सहितको ठेक्का पाएको कम्पनीले त्यहाँका स्थानियबासीको अवरोधका कारण काम गर्न नपाएको गुनासो गरेको छ ।

“स्थानीयको अवरोधले काम गर्न पाएनौं । अव स्थानीयसँग भन्दा पनि ठेक्का सम्झौता लिएको पक्षसँग समन्वय गर्छौं, कम्पनीका सञ्चालक बासु पराजुलीले भने–विद्यालयले जग्गाको हालसाविक गरेर दिने भन्नुभएको छ । १०÷१५ दिन कुर्छौं ।’ लगानी गरेकै १० महिना वितिसकेको भन्दै उनले छिटो समस्या सुल्झाईदिन आग्रह गरेका छन् ।