ताङतिङदेखि याङ्जाकोट नयाँ ट्रेकिङ रूट

पोखरा, माघ १२ ।
कास्कीको ताङतिङबाट, करापु डाँडा हुँदै याङ्जाकोटसम्म नयाँ पदमार्गको पहिचान गरिएको छ । होमस्टे ट्रेकिङ ट्रेल नाम दिइएको यस पदमार्गले कास्कीका होमस्टेहरूलाई आपसमा जोड्नेछ । ताङतिङ र याङ्जाकोट होमस्टेमा बास बसी पदयात्रा गर्दै स्थानीय रहन सहन, खानपिनसंगै अन्नपूर्ण र मनासलु हिमश्रृङ्खला अवलोकन गर्न पाइनु यस होमस्टे पदमार्गका विशेषता हुन् । पदमार्गको सुरूवात ताङतिङबाट सुरू हुन्छ । पोखराबाट मोटरमा साढे २ घण्टामा ताङतिङ पुगिन्छ । अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको गाउँमा १३ घरमा होमस्टे छ । गुरूङ समुदायको बसोबास रहेको यस गाउँमा आमा समूहले घाटु, सोरठी र झ्याउरे जस्ता सांस्कृतिक नृत्य प्रदर्शन गर्छन् । ताङतिङबाट पूर्व्तिर करिब ५ घण्टा उकालो हिडेपछि ३०७७ मिटर उचाइमा रहेको करापु डाँडा पुगिन्छ । पदयात्रामा गुराँसे जंगल, जंगली फूल, चराचुरुंगीको आवाज, सुन्दर गुरुङ बस्ती र हिमाली दृश्यले यात्रा रोमाञ्चक बनाउँछ। नौंचु डाँडा, स्तुपा, नौजले डाँडा, भेडी गोठ हुँदै करापु पुगिन्छ । करापु डाँडाबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्यसंगै लमजुङ हिमाल, मनासलु, माछापु्च्छ्रे, मार्दी हिमाल, अन्नपूर्ण साउथ, अन्नपूर्ण २, अन्नपूर्ण ४, अन्नपूर्ण ३ को दृश्य नजिक बाट देखिन्छ । हाल करापु डाँडामा बस्ती र होटलहरू नभएकाले धर्मशाला नजिकै क्याम्पिङ गरेर बस्नुपर्छ । करापु डाँडाबाट करिब ४(५ घण्टा ओरालो डाँडा भञ्ज्याङ जंगलको बाटो हुँदै याडजाकोट गाँउ पुगिन्छ। सुरुको केही बाटो निकै अप्ठ्यारो छ, मर्मत सुधार गर्नपर्ने छ । क्योहोया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाँटी पौवा, तउरो हुँदै याङ्जाकोट पुगिन्छ ।
समु्न्द्र सतहबाट १४७७ मिटर उचाइमा रहेको याङ्जाकोट गाउँमा होमस्टे छ। गुरुङ जातिको बाहुल्य रहेको गाउँमा दलित र क्षेत्री जातिको बसोबास छ । यस गाउँबाट अन्नपूर्ण, लमजुङ, माछापुछ्रे हिमाल नजिकै देखिन्छ। होमस्टेका अध्यक्ष रोशन गुरुङका अनुसार होमस्टेमा स्थानीय परिकार, गुरुङ जीवनशैलीको साथमा कृष्ण चरित्र, घाटु र सोरठी नाचगान प्रस्तुत गरिन्छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा पदमार्गको अध्ययन भ्रमण गरेको हो । कार्यक्रमका संयोजक तथा भिटोफ नेपालका सह(कोषाध्यक्ष कृष्णबहादुर सुवेदीले आगामी दिनमा यो रूटलाई लमजुङको भुजुङ, पसगाँउ र घलेगाँउ होमस्टेसँग जोड्न सकिने बताए । साभार अनलाईखवर

तस्विर-प्रकाश ढकाल/डिएनए